काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। शुक्रबार बिहान सहिद दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले सहिद स्मारक पुगेर देश र जनताको हितका लागि” आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले सहिदहरूको त्याग र बलिदानको स्मरण गर्दै उनीहरूले देखाएको मार्ग आज पनि प्रेरणाको स्रोत रहेको बताउनुभयो।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा हरेक वर्ष सहिद दिवस मनाइने गरिन्छ । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। शहीद दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सन्देशमा भनिन्, “उहाँहरूको साहस, चेतना र सङ्कल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। साथै न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त वीर योद्धाहरूप्रति पनि उनले नमन व्यक्त गरिन्।
नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्कीले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गरेकी छन्। उनले यस्तो दायित्व सधैँ स्मरणमा रहनुपर्नेमा जोड दिइन्।


प्रतिक्रिया दिनुहोस्