लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको जनपद प्रहरी जवान पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ। परीक्षामा अर्कै व्यक्तिको नाममा सहभागी भएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
आज (माघ १७ गते शनिबार) सुर्खेत सदरमुकामका आठ वटा परीक्षा केन्द्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लिखित परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी केही व्यक्तिहरूले अर्कै व्यक्तिको नाममा परीक्षा दिएको आशंका लागेपछि दिउँसो करिब २ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामकुमार यादवको कमाण्डमा ४० जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ का २१ वर्षीय निरज शाहीले सोही ठाउँका १८ वर्षीय सूर्यकिरण शाहीको नाममा परीक्षा दिन आएको खुलेको छ। दुवै जनालाई नियन्त्रणमा लिइएको छ।
यसैगरी कुशे गाउँपालिका–२ का २३ वर्षीय नवराज विक र २६ वर्षीय विपेश सिंह, छेडागाड नगरपालिका–१० का १९ वर्षीय चन्द्र शाह, कुशे गाउँपालिका–११ का १७ वर्षीय केशव थापा, शिवालय गाउँपालिका–४ का २४ वर्षीय प्रकाश बुढा र जुनिचाँदे गाउँपालिका–३ की २१ वर्षीया डिल्ला खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ। खड्काको प्रवेशपत्रमा प्रयोग गरिएको फोटो शंकास्पद देखिएको प्रहरीले जनाएको छ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका–१ का २४ वर्षीय रमेश नेपाली, बाँकेको राप्ती सोनारी गाउँपालिका–८ का २५ वर्षीय सर्जु थारु, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का १८ वर्षीय वीरबहादुर बाठा र जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल पनि पक्राउ परेका छन्।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्