त्रिभुवन विमानस्थल भन्सारका तीन कर्मचारी घुससहित पक्राउ

Sagarmatha Post
Sagarmatha Post १९ माघ २०८२, सोमबार
2 Min Read
Aa

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत न्यौपाने, सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभागअन्तर्गत गोश्वारा हुलाक कार्यालयको निकासी शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार उनीहरूको साथबाट दुई लाख ६८ हजार २८८ रुपैयाँ नगद र २३ थान मोबाइल फोन बरामद गरिएको छ। तीनै जना कर्मचारी तथा अन्य केही शंकास्पद व्यक्तिहरूबाट बरामद गरिएका मोबाइल फोनहरू विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाउने तयारी भइरहेको अख्तियारले जनाएको छ।

नेपालबाट कुरिअरमार्फत सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाई अनुसन्धान थालेको थियो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार रुपैयाँ घुस, उनको घरबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यसैगरी, नायब सुब्बा रिजालको साथबाट सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ। अख्तियारका अनुसार उक्त रकम अधिकृत न्यौपाने, नायब सुब्बा रिजाल र कार्यालय सहयोगी पुडासैनीको मिलेमतोमा घुस लिई बाँडफाँट गर्नुअघि नै नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्