निर्वाचन आयोगले मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने स्पष्ट पारेको छ। आयोगका अनुसार मतदाता नामावलीमा नाम दर्ता भएको भए सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिनेछ।
निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै आयोगले यस्तो जानकारी दिएको हो। मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नको उत्तरमा आयोगले छ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न सकिने जनाएको छ।
आयोगका अनुसार मतदानका लागि सबैभन्दा पहिले मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्छ। नाम दर्ता भएका मतदाताले सामान्यतया मतदान गर्न जाँदा मतदाता परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था छ।
तर, मतदाता परिचयपत्र नभएको वा हराएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र तथा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान गर्न पाइने आयोगले जनाएको छ।
आगामी २१ फागुनमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले सबै मतदातालाई आवश्यक कागजातसहित मतदानमा सहभागी हुन आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्