प्रतिनिधिसभा निर्वाचन : आजदेखि नेपाली सेना परिचालन हुने

Sagarmatha Post
Sagarmatha Post २१ माघ २०८२, बुधबार
3 Min Read
Aa

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन हुने भएको छ। निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्ड गस्तीमा निस्कन लागेको हो।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार आजदेखि सेना परिचालन सुरु हुँदैछ।निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिँदैछ। आवश्यकता अनुसार गस्ती तथा पेट्रोलिङ गरिनेछ भने संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त गस्ती समेत हुने जनाइएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा नेपाली सेना परिचालनका लागि स्वीकृति दिएका थिए। त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण, तालिम तथा अभ्यासका कार्य सम्पन्न गरेको जनाएको छ।निर्वाचन अवधिमा नेपाली सेनाले हवाई गस्ती समेत गर्नेछ। विकट तथा अति संवेदनशील क्षेत्रलाई ध्यानमा राख्दै हवाई निगरानी तथा आवश्यक अवस्थामा हेलिकप्टरमार्फत सेना परिचालन गरिनेछ।

निर्वाचनको समयमा तथा निर्वाचनपश्चात मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिने व्यवस्था गरिएको छ। सेनाले सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा पाँच स्थानमा स्ट्याण्डबाई हेलिकप्टर राख्ने जनाएको छ। सडक सञ्जाल नपुगेका स्थानमा मतपत्र तथा मतपेटिका ढुवानी र निर्वाचनपछि गणनास्थलसम्म ल्याउने काम पनि सेनाले हेलिकप्टरमार्फत गर्नेछ।निर्वाचन अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा फिल्डमा खटिने भएकाले महत्वपूर्ण प्रतिष्ठान, कारागार तथा विमानस्थलहरूको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थल, कारागार कार्यालय, सिंहदरबारलगायतका संवेदनशील स्थानको सुरक्षा सेनाले गर्नेछ।

आसन्न निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थल मा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन क्षेत्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। यसअनुसार २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशील मतदानस्थलका रूपमा पहिचान गरिएको छ।

बम डिस्पोजल टोली तैनाथ

निर्वाचन भाँड्न खोज्ने समूहबाट बम तथा विस्फोटक पदार्थ राख्ने सम्भावनालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली समेत तैनाथ गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।

अति संवेदनशील मतदानस्थलहरूमा केन्द्रित गरी बम डिस्पोजल टोली परिचालन गरिएको हो। विगतका निर्वाचनमा होक्स बम तथा छिटपुट विस्फोटका प्रयास भएका कारण यसपटक विशेष सतर्कता अपनाइएको सेनाले जनाएको छ।

यसपटक मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुती) नेतृत्वको नेपाल कम्युनिष्ट वैज्ञानिक समाजवादी पार्टी, समर जङ्ग नेतृत्वको समाजवादी कम्युनिष्ट पार्टी र महेन्द्र मल्ल नेतृत्वको जनपक्षीय कम्युनिष्ट पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरिसकेका छन्।

वैद्य नेतृत्वको पार्टीले हालै काठमाडौंको बाङ्गेमुढामा बहिस्कार कोणसभा गरेको थियो। सो पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्का सिन्धुलीको दुधौलीमा आयोजित कोणसभापछि पक्राउ परेका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्