एलपीजी ग्यास पर्याप्त छ, अनावश्यक स्टक नगर्न आयल निगमको आग्रह

Sagarmatha Post
Sagarmatha Post २१ माघ २०८२, बुधबार
1 Min Read
Aa

नेपाल आयल निगमले पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै फैलिएको हल्लाको पछि नलाग्न उपभोक्तालाई अनुरोध गरेको छ। निगमका अनुसार हाल ग्यासको आपूर्ति मागभन्दा बढी रहेको र बजारमा कुनै अभावको अवस्था नरहेको जनाएको हो।निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नेपालमा प्रतिदिन औसतमा ९० बुलेट अर्थात् करिब १ लाख १४ हजार सिलिण्डर एलपीजी ग्यास आवश्यक पर्ने जानकारी दिए। उनका अनुसार शनिबारदेखि मंगलबारसम्म मात्रै ३६५ बुलेट ग्यास लोडिङ गरिएको छ।

मंगलबार मात्र भारतबाट १ लाख ६३ हजार ३ सय सिलिण्डर ग्यास आयात भएको र तीमध्ये केही बुलेटहरू बाटोमै रहेका तथा आजै नेपाल प्रवेश गर्ने उनले बताए।सामाजिक सञ्जालमार्फत डा. भट्टले उपभोक्तालाई अनावश्यक रूपमा ग्यासको स्टक नगर्न आग्रह गर्दै नियमित रूपमा आपूर्ति भइरहेकाले ढुक्क हुन अनुरोध गरेका छन्। निर्वाचन अवधिमा समेत यसैगरी निरन्तर ग्यास आपूर्ति हुने उनले स्पष्ट पारे। केही दिनयता ग्यास अभाव भएको हल्लापछि उपभोक्ताहरू लामो लाइनमा बसेर ग्यास किन्न थालेका थिए। निगमले यस्ता अफवाहका कारण कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै संयम अपनाउन आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्