प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन्। मंगलबार राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँग कुराकानी गर्दै निर्वाचन फागुन २१ गते नै सम्पन्न गराउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताइन्। निर्वाचन सर्ने हल्ला निराधार रहेको उल्लेख गर्दै उनले भनिन्, “चुनाव सर्दैन, किन सार्नु र? यो बेला करिब ३१–३२ अर्ब खर्च हुन्छ। सबै निर्वाचनमा हुने खर्च होइन। आवश्यक भौतिक साधन र अभावहरू पूरा गर्दा खर्च बढेको हो।”
प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन तयारीका लागि अहिले ठूलो लगानी भइरहेको छ र विभिन्न देशबाट प्राप्त सहयोग पनि यही प्रयोजनका लागि प्रयोग भइरहेको छ। “यो अवस्था नआएको भए त्यो सहयोग अन्य क्षेत्रमा जान्थ्यो,” उनले भनिन्। उनले निर्वाचन जसरी पनि सम्पन्न हुने र नयाँ जनप्रतिनिधि चयन भएपछि सरकारको सत्ता हस्तान्तरण गरिने स्पष्ट पारिन्। कतिपय स्थानमा विशेष कारणले निर्वाचन अवरुद्ध भए दोस्रो चरणमा भए पनि चुनाव गराइने उनको भनाइ थियो। हिमाली जिल्लाहरूमा चिसो र भौगोलिक जटिलताका कारण समस्या आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताइन्।


प्रतिक्रिया दिनुहोस्