काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।बुधबार आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।समझदारी अनुसार टिकटकले निर्वाचनसम्बन्धी स्वच्छ सूचना प्रवाह, भ्रामक सामग्री नियन्त्रण, जिम्मेवार डिजिटल सहभागिता र निर्वाचन प्रक्रिया प्रति जनचेतना अभिवृद्धिमा सहकार्य गर्नेछ।
कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले टिकटकले निस्शुल्क रूपमा निर्वाचन सफल बनाउन सहकार्य गर्नु महत्त्वपूर्ण भएको बताए। उनले भने, “विश्वको नजर अहिले नेपालको निर्वाचन र निर्वाचन आयोगतर्फ छ। यस्तो अवस्थामा टिकटकले हाम्रो निर्वाचन प्रक्रियालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु अत्यन्तै सराहनीय र महत्त्वपूर्ण छ।”निर्वाचन आयोगले डिजिटल प्लेटफर्मसँगको सहकार्यले निर्वाचनमा गलत सूचना नियन्त्रण गर्न र नागरिकलाई सही सूचना पुर्याउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्