फागुन २१ गते हुने निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

Sagarmatha Post
Sagarmatha Post २२ माघ २०८२, बिहीबार
2 Min Read
Aa

राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचनको क्रममा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ध्यान दिन राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई सचेत गराएको हो।आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलका अनुसार आयोगले निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसँग अनुगमन तथा पर्यवेक्षणको प्रभावकारिताबारे छलफल गरेको छ।

विज्ञप्तिमा निर्वाचनको क्रममा एक–अर्काप्रति घृणायुक्त आरोप–प्रत्यारोप नगर्न, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनीयताको हकमा असर नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रसारण नगर्न र हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरिएको छ। साथै, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले जोड दिएको छ।आयोगको अनुगमनबाट केही उम्मेदवारहरूले अन्य दल, नेता तथा उम्मेदवारप्रति अमर्यादित भाषा र घृणाजन्य अभिव्यक्ति दिएको देखिएको जनाइएको छ।

यस प्रकारका गतिविधिले मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लंघन गरेको आयोगको ठहर छ।आयोगले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारबाट उल्लंघन भएको, निर्वाचनपूर्व अमूक उम्मेदवारले जित्छन् भन्ने खालका समाचारमार्फत भ्रम सिर्जना गरिएको, मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा केही राजनीतिक दलका कार्यालयमा तोडफोडका घटना भएकोप्रति पनि ध्यानाकर्षण गराएको छ।आयोगले यी सबै गतिविधि रोक्दै स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको स्पष्ट पारेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्