रौतहटएमा भएको घटनालाई गम्भीरताका साथ लिएको छ : रास्वपा

Sagarmatha Post
Sagarmatha Post २३ माघ २०८२, शुक्रबार
2 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनालाई गम्भीरताका साथ लिएको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा रौतहटको इशनाथ नगरपालिका–४, मठिया टोलमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया अल्फा खातुनको असामयिक निधन भएकोप्रति पार्टी अत्यन्तै स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छ।”महामन्त्री बुर्लाकोटीले घटनासँग सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाउन तथा पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक पहल गर्ने बताएका छन्। साथै, पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन पनि पहल भइरहेको जानकारी दिएका छन्।

उनले आगामी दिनमा उम्मेदवार तथा पार्टीका तर्फबाट प्रयोग हुने सवारी साधन परिचालन गर्दा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैलाई निर्देशन दिइएको उल्लेख गरेका छन्।उक्त दुर्घटना बिहीबार दिउँसो भएको हो। दुर्घटनापछि गम्भीर घाइते बालिकालाई सोही गाडीमार्फत गौर सिटी अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। गाडी चालक परोहा नगरपालिका घर भएका २७ वर्षीय शेख मुस्ताख घटनापछि फरार भए पनि प्रहरीले उनलाई बिहीबार नै नियन्त्रणमा लिइसकेको छ।उम्मेदवार शेख सगिरले दुर्घटनाको समयमा आफू गाडीमा सवार नरहेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्