नख्खु कारागारबाट फरार भएका कैदीले गरेका थिए बालेन शाहको घरमा चोरी

Sagarmatha Post
Sagarmatha Post २५ माघ २०८२, आईतवार
3 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहको डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–४, चप्पल कारखाना नजिक रहेको शाहको डेरामा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

पक्राउ पर्नेमा बालाजु हाइट बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटीका ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्। उनीहरूलाई शुक्रबार र शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुख्य अभियुक्त मनिष राजवाहकले बालेन शाहको डेरामा चोरी गरेको स्वीकार गरेका छन्। उनी यसअघि चोरी मुद्दामा २०७९ मंसिर १८ गते पक्राउ परी ३ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका थिए। तर, भदौ २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा नख्खु कारागारबाट फरार भएका थिए।

कारागारबाट फरार भएपछि उनले काठमाडौंका कम्तीमा पाँच स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बालेन शाहको डेराबाट चोरी गरिएका ल्यापटपहरू समेत अभियुक्त मनिषबाट बरामद गरिएको एसएसपी थापाले बताए। मनिष पछिल्लो समय खिमबहादुर खड्काले सञ्चालन गरेको बालुवा डिपोमा काम गर्दै आएका थिए। उनीविरुद्ध प्रहरी वृत्त कालिमाटी र महाराजगञ्जमा समेत चोरीसम्बन्धी मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले निर्माणाधीन घरहरूबाट धारा, टुटी, चाँदीका गिलास, कचौरा, दियो, चाँदीका प्लेटलगायतका सामग्री चोरी गर्ने गरेको खुलेको छ। चोरीपछि उनी काठमाडौंको एक होटलमा बस्दै आएका थिए, जहाँबाट एउटा राउटर र दुईवटा सीसीटीभी क्यामरा समेत बरामद गरिएको छ।

त्यसैगरी पक्राउ परेका खिमबहादुर खड्का बालुवा डिपोका सञ्चालक हुन्। उनले मनिषबाट चोरीका सामान लिएर बिक्री–वितरण गर्ने गरेको प्रहरीको दाबी छ। उनीहरूबीच विगत ७–८ वर्षदेखि चिनजान रहेको बताइएको छ। खिमबहादुरको घरबाट सुनजस्तै देखिने नक्कली धातुका गहना, लक्ष्मीको मूर्ति जडित झुम्का, चन्द्रमा आकारका गहना, विभिन्न रङका पत्थर जडित झुम्का, सिक्री, लप्सेरा र पत्थरको माला लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

तेस्रो अभियुक्त सञ्जय श्रेष्ठ पनि यसअघि कारागार सजाय भोगिसकेका व्यक्ति हुन्। उनीसँग मनिषको चिनजान रामेछाप कारागारमा हुँदा भएको प्रहरीले जनाएको छ। उनले मनिषबाट दुई वटा ल्यापटप ८ हजार रुपैयाँमा लिएको स्वीकार गरेका छन्। सञ्जयको धादिङस्थित घरबाट ल्यापटप र म्याकबुक लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्