पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। घटनापछि क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो।सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदाममा छापा मारेको थियो। छापाका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।कपडा बरामद गरेपछि तस्कर समूह आक्रोशित हुँदै ढुंगामुढा सहित आक्रमणमा उत्रिएको जनाइएको छ। आक्रमणका क्रममा सशस्त्र प्रहरी बल नेपालको एक वानटेन र एक स्कार्पियो गाडीमा क्षति पुगेको छ।
झडपमा घाइते भएका तीनै जना सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको र उपचारपछि ड्युटीमा फर्किने तयारी भइरहेको थापाले जानकारी दिए।बरामद गरिएको अवैध सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको तथा घटनामा संलग्नको पहिचान गरी थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्