नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी

Sagarmatha Post
Sagarmatha Post २६ माघ २०८२, सोमबार
2 Min Read
Aa

नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२को नतिजाले यस्तो देखाएको हो।सर्वेक्षणअनुसार नेपालमा हरेक एक हजार जीवित जन्ममध्ये एक वर्ष नपुग्दै २७ शिशुको मृत्यु हुने गरेको छ। त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार ३१ रहेको छ। नवजात शिशु (एक महिनाभित्र) को मृत्युदर भने प्रतिहजार १७ रहेको तथ्यांकले देखाएको छ।

प्रादेशिक रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा नवजात शिशु मृत्युदर प्रतिहजार २६ पुगेको छ, जुन सबैभन्दा बढी हो। सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० रहेको छ। शिशु मृत्युदर पनि सुदूरपश्चिममै सबैभन्दा बढी प्रतिहजार ३८ रहेको छ भने सबैभन्दा कम बागमतीमा १७ रहेको कार्यालयले जनाएको छ।त्यसैगरी, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा पनि सुदूरपश्चिम प्रदेश अग्रस्थानमा छ, जहाँ प्रतिहजार ४८ बालबालिकाको मृत्यु हुने गरेको छ। सबैभन्दा कम भने गण्डकी प्रदेशमा प्रतिहजार २० रहेको देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय र क्षेत्रीय स्तरमा अनुगमन, मूल्यांकन र योजना तर्जुमाका लागि स्तरीय तथा तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यले नेपाल बहुसूचक सर्वेक्षण गरिएको हो।यस सर्वेक्षणका लागि देशभरका ५४० क्लष्टर (गणना क्षेत्र) छनोट गरिएको थियो। जसमध्ये ३०४ शहरी र २३६ ग्रामीण क्षेत्रका क्लष्टर थिए। प्रत्येक क्लष्टरबाट २४ परिवार छनोट गरी कुल १२ हजार ९६० परिवारबाट तथ्यांक संकलन गरिएको कार्यालयले जनाएको छ।

दीगो विकास लक्ष्य अनुसार विश्वव्यापी रूपमा नवजात शिशु मृत्युदर प्रतिहजार १२ वा सोभन्दा कम र पाँच वर्षमुनिको बालमृत्युदर प्रतिहजार २५ वा सोभन्दा कममा झार्ने लक्ष्य रहेको छ।सर्वेक्षण नतिजाअनुसार नवजात शिशु मृत्युदर शहरमा प्रतिहजार १६ र ग्रामीण भेगमा १९ रहेको छ। एक वर्षमुनिका शिशुको हकमा शहरमा २६ र ग्रामीण क्षेत्रमा २७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकामा शहरमा ३१ र ग्रामीण भेगमा ३० रहेको तथ्यांकले देखाएको छ।लैंगिक आधारमा हेर्दा नवजात, शिशु तथा बाल मृत्युदर सबैमा बालकको मृत्युदर बढी रहेको छ। हरेक एक हजार जीवित जन्ममा एक महिनाभित्र १८ बालक र १५ बालिकाको मृत्यु हुने गरेको छ। शिशुको हकमा बालक २७ र बालिका २६ को मृत्यु हुने गरेको छ भने पाँच वर्षमुनिको हकमा बालक ३१ र बालिका ३० रहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्