गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि सिरहा कारागारमा तनाव चुलिएको छ । नाइके ईन्द्रजित यादवसहित १३ जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि कारागारभित्र कैदी र सुरक्षा निकायबीच दोहोरो भिडन्तको अवस्था सिर्जना भएको हो ।नियन्त्रणमा परेका नाइके यादवलाई फिर्ता गर्न माग गर्दै आक्रोशित कैदीहरू कारागारको छतमाथि चढेर थाली बजाउँदै नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘नाइके इन्द्रजितलाई फिर्ता गर’, ‘इन्द्रजित दाइ चाहियो’, ‘हाम्रो माग पूरा गर’ तथा ‘सिडिओ, जेलर, एसपी मुर्दावाद’ जस्ता नाराहरू लगाएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरे पनि कारागारभित्रको होहल्ला अझै नियन्त्रणमा आउन सकेको छैन । कारागारभित्र र बाहिर करिब १५० जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने थप सुरक्षा टोली पनि तैनाथ गरिएको प्रशासनले जनाएको छ ।जिल्ला सुरक्षा समितिको अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र नगद १ लाख २० हजार रुपैयाँ बरामद गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । साथै चुरोट, सुर्ती लगायतका प्रतिबन्धित सामग्रीसमेत जफत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार कारागारभित्र मदिरा तथा लागुऔषधको कारोबार, मोबाइल फोनको अवैध प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे विशेष अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनका क्रममा नाइके ईन्द्रजित यादवको कोठाबाट उक्त बन्दुक, गोली र नगद रकम फेला परेको हो ।
अवैध गतिविधिमा संलग्न रहेको आरोपमा यादवसहित १३ जना कैदीलाई कारागारबाट निकालेर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ । उनीहरूलाई हात बाँधेर र आँखामा पट्टी बाँधी कारागारको भित्री गेटबाट बाहिर निकालिएको थियो ।प्रशासनका अनुसार नियन्त्रणमा परेका कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको र कारागार सुरक्षामा थप कडाइ गरिएको प्रशासनले जनाएको छ । १५० जना कैदी राख्ने क्षमता रहेको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी राखिएको तथ्यले कारागारको अत्यधिक भीडभाडसमेत उजागर गरेको छ ।


प्रतिक्रिया दिनुहोस्