महाशिवरात्रि : पशुपति क्षेत्रमा साधु सन्त र भक्तजनको चहलपहल बढ्यो

Sagarmatha Post
Sagarmatha Post २ फाल्गुन २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधु सन्त एवं टाढाबाट आउने भक्तजनको चहलपहल बढेको छ । देश, विदेशबाट आएका साधु सन्त एवं भक्तजनका कारण पशुपति क्षेत्रमा मेला लागेको छ । महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ । कतिले सेवा सुरु गरिसकेका छन् भने कतिले सेवाको तयारी गरेका छन् । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन् ।

हंसमण्डप क्षेत्रको स्थलगत अनुगमनमा खटिनुभएका कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सफाइमा विशेष ध्यान दिइएको बताउनुभयो । पशुपति क्षेत्रमा आएका साधु सन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष लागिरहेको उहाँले उल्लेख गर्नुभयो । यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधु सन्त आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।गत वर्षभन्दा यस वर्ष साधु सन्त बढी आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा सेवा दिइरहेका स्वयंसेवी संस्थाको दृष्टिमा भने यस वर्ष विगतमा भन्दा कम मानिस अघिल्लो दिन पशुपति क्षेत्रमा आएका कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।

हंसमण्डपमा भोजन सेवामा खटिनुभएका विनोद लीला अग्रवाल आज दिउँसो विगत वर्षभन्दा कम भक्तजन आएका उल्लेख गर्नुभयो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि मानिसको आवागमन कम भएको हुनसक्ने उहाँको अनुमान छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रलाई विशेष रूपमा सिँगारिएको छ । फूलमालाले विशेष रूपमा सिँगारेर आकर्षक बनाइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्