भारत सरकारले पशुपतिनाथ मन्दिर र बैजनाथधाम जोड्ने नयाँ ‘हाइ–स्पिड करिडोर’ निर्माण प्रस्ताव स्वीकृत गरेको छ। काठमाडौंदेखि झारखण्डको देवघरसम्म पुग्ने यो करिडोर भागलपुर हुँदै जानेछ।बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार विधानसभामा जानकारी दिँदै सन् २०२६र२७ को बजेटमा करिब ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको बताए। उनका अनुसार प्रस्तावित ‘पशुपतिनाथ–सुपौल–वैद्यनाथधाम करिडोर’ काठमाडौंबाट सुरु भई भीमनगर, वीरपुर हुँदै बिहारको सुपौल जिल्ला प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला पार गर्दै झारखण्डको देवघरस्थित वैद्यनाथधाम पुग्नेछ।
करिब २४० किलोमिटर लामो हुने बताइएको यो करिडोर सुल्तानगञ्ज–अगुवानीघाटमा गंगा नदीमाथि निर्माणाधीन पुल हुँदै गुज्रिनेछ। सात महिना अघि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी यो परियोजना प्रस्ताव गरेका थिए।श्रावणी मेला र काँवर यात्राका क्रममा सुल्तानगञ्जबाट जल लिएर पैदल बैजनाथधाम पुग्ने श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ। साथै भारतीय तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि नेपाल आउने क्रम पनि जारी छ। करिडोर निर्माण भएपछि तीर्थयात्रा सुरक्षित र सहज हुने तथा धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
परियोजनाअन्तर्गत पैदल यात्रुका लागि विशेष ‘सर्भिस रोड’ बनाइनेछ, जसले नाङ्गो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई सहजता प्रदान गर्नेछ। यसले नेपाल, बिहार र झारखण्डबीच धार्मिक पर्यटनसँगै व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।भागलपुरका जिल्ला अधिकारी डा. नवल किशोर चौधरीका अनुसार मार्गचित्र तयार भइसकेको छ र मन्त्रालयबाट विस्तृत प्रस्ताव प्राप्त हुनासाथ कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्