रौतहटको गौरमा मस्जिद नजिक बाजा बजाएको विवादले झडप, क्षेत्र तनावग्रस्त

Sagarmatha Post
Sagarmatha Post ८ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप भएको छ। बिहीबार राति सुरु भएको विवाद शुक्रबार बिहानदेखि उग्र बन्दै गएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। स्थानीयका अनुसार बिहीबार राति हिन्दू समुदायको विवाहमा बाजागाजासहित जन्ती गाउँ प्रवेश गरेको थियो। सोही समयमा सबगढा गाउँस्थित मस्जिदमा मुस्लिम समुदायले नवाज पढिरहेको बेला बाजा बजाइएको विषयलाई लिएर भनाभन सुरु भएको बताइएको छ।

भनाभनपछि मुस्लिम समुदायका केही व्यक्तिले बाजा बजाउने डिजे समूहका सदस्यलाई कुटपिट गरेको स्रोतले जनाएको छ। सोही घटनालाई लिएर शुक्रबार बिहानैदेखि पुनः दुई समुदायबीच झडप भएको हो। दुवै पक्षबाट ढुङ्गा हानाहान भएको बताइएको छ।घटनापछि स्थानीय प्रशासनले क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल तथा सशस्त्र प्रहरी बल नेपालका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको जानकारी दिए।

अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।यस प्रकारको घटना अत्यन्तै दुःखद भएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले दुवै पक्षबीच वार्ताका लागि पहल भइरहेको जानकारी दिए। स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्