अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी १० प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाउने घोषणा गरेका छन् । बीबीसीका अनुसार ट्रम्पले ‘सेक्सन १२२’ नामक अहिलेसम्म प्रयोग नगरिएको कानुनअन्तर्गत अधिकतम १५ प्रतिशतसम्मको ट्यारिफ केही दिनका लागि लागू गर्ने घोषणा गरेका हुन् ।ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकासँग यसअघि व्यापार सम्झौता गरेर ट्यारिफ दर घटाएका देशहरू अब पुरानै सहमतिभन्दा फरक १० प्रतिशतको विश्वव्यापी दरमा पर्नेछन् । यसमा बेलायत, भारत र युरोपेली संघलगायतका देश समावेश छन् । ती देशहरूले भने सम्झौताअनुसार दिएका सहुलियतहरू यथावत् पालना गर्नुपर्ने ट्रम्प प्रशासनको अपेक्षा रहेको बीबीसीले जनाएको छ ।
नेपालमा कस्तो असर ?
नेपाल र अमेरिकाबीच ठूलो परिमाणको द्विपक्षीय व्यापार नभए पनि अमेरिका नेपाली वस्त्र, तयारी पोशाक, हस्तकला तथा केही कृषि–उत्पादनको प्रमुख बजारमध्ये एक हो । विशेष गरी नेपाली गलैंचा, पस्मिना, हस्तनिर्मित सामान र केही गार्मेन्ट उत्पादन अमेरिका निर्यात हुने गरेको छ ।
यदि अमेरिकाले सबै देशमाथि समान १० प्रतिशत अतिरिक्त ट्यारिफ लगायो भने नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता घट्न सकछ ।भारत, बंगलादेश वा भियतनामजस्ता प्रतिस्पर्धी देशका उत्पादनमाथि पनि समान दर लागे पनि मूल्य संवेदनशील बजारमा सानो शुल्क वृद्धिले समेत निर्यात घट्न सक्ने जोखिम हुन्छ । यद्यपि, नेपालले अमेरिकासँग पाउने केही विशेष व्यापारिक सुविधा कायम रह्यो वा रहेन भन्ने विषय स्पष्ट भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्