रौतहट जिल्ला अदालत ले आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ। जिल्लाको सदरमुकाम गौर क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्युका कारण अदालतको नियमित सेवा प्रभावित भएको हो।जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जारी गरिएको उक्त आदेशका कारण अदालतको दैनिक कार्यसम्पादन रोकिएको अदालतले जनाएको छ।
अदालतद्वारा जारी सूचनामा आइतबार प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने उल्लेख गरिएको छ। साथै आजका लागि तोकिएका तारिख र म्यादसमेत नगुज्रिने स्पष्ट पारिएको छ, जसले सेवाग्राहीलाई कानुनी रूपमा असर नपर्ने बताइएको छ।फागुन ७ गतेदेखि भड्किएको हिंसात्मक घटनापछि रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यु जारी रहँदै आएको छ। जिल्लामा शान्ति–सुरक्षा अवस्था सामान्य नभएसम्म प्रशासनले कर्फ्यु कायमै राख्ने संकेत दिएको छ।


प्रतिक्रिया दिनुहोस्