निर्वाचन प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

Sagarmatha Post
Sagarmatha Post ११ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल  तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ ।निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा उम्मेदवारसँग यस्तो आग्रह गरेको हो । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिह्नको भौतिक स्वरूप (जस्तै: सक्कली घण्टी, डोजर वा खुकुरी) प्रयोग नगर्न भनेको हो ।

पछिल्लो समय देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरेको भन्दै व्यापक गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, “राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने गरी धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्न पाउने छैनन्। आचारसंहिता विपरीत यस्ता कार्य गरेमा तत्काल कारबाही हुनेछ।”यो निर्णयसँगै अब रास्वपाले प्रचारमा घण्टी बजाउन पाउने छैन भने अन्य दलले पनि खुकुरी वा अन्य भौतिक हतियार जस्ता देखिने चिह्न प्रदर्शन गर्न पाउने छैनन्। आयोगले दलहरूलाई झण्डा र चुनाव चिह्नको सामान्य माध्यमबाट मात्रै प्रचार गर्न निर्देशन दिएको छ। रास्वपाले घन्टी बजाएर प्रचार गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्