सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना नागरिकहरूलाई इरान छोड्न औपचारिक सल्लाह दिएको छ । क्षेत्रीय तनाव बढ्दै गएको मूल्यांकन गर्दै भारतको विदेश मन्त्रालय ले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो ।तेहरानस्थित भारतीय दूतावास तेहरान ले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा हाल इरानमा रहेका भारतीय नागरिकहरूलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी इरान छोड्न सल्लाह दिइएको उल्लेख छ । साथै, विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक सूचना लिइरहन पनि आग्रह गरिएको छ ।
विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन् । पछिल्लो अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने परिस्थिति सिर्जना भएको सरकारी धारणा छ ।यो चेतावनी नरेन्द्र मोदी को बुधबार तय भएको इजरायल भ्रमणअघि सार्वजनिक भएको हो । बेन्जामिन नेतान्याहु ले उक्त भ्रमणले ‘कट्टरपन्थी’ चुनौतीहरूको सामना गर्न नयाँ सहकार्य सुदृढ गर्ने अपेक्षा व्यक्त गरेका छन् । मोदीले पनि सामाजिक सञ्जालमार्फत इजरायल भ्रमणका क्रममा हुने छलफलप्रति आफू सकारात्मक र उत्सुक रहेको जनाएका छन् ।
नयाँदिल्लीले रक्षा, कृषि, प्रविधि र सुरक्षाजस्ता क्षेत्रमा इजरायलसँग सहकार्य विस्तार गर्दै आएको छ । त्यस्तै, भारतले खाडी राष्ट्रहरू र इरान सँग पनि दीर्घकालीन रणनीतिक सम्बन्ध कायम राखेको छ । इरानको चाबहार बन्दरगाह विकासमा भारतको संलग्नता अफगानिस्तानसम्म व्यापारिक पहुँच विस्तार गर्ने योजनासँग जोडिएको छ । यस सन्दर्भमा भारतले अफगानिस्तानमा सत्तारूढ तालिवान प्रशासनसँग पनि सम्पर्क विस्तार गर्दै आएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्