संखुवासभा, संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नम्बर–२ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।शनिबार बिहान ९ बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । हेभी सवारी साधन तार्ने क्रममा पुल गाडी सहित भाँचिएको हो ।
बेलिब्रिज भाँचिदा नुम सेदुवा सडक खण्डको भित्री सडकमा प्रदेश –०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।गम्भीर घाइते चाकलको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार पश्चात काठमाडौं लग्ने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो ।
अरुण नदीको बेलिब्रिज भाँचिएपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्