संयुक्त राष्ट्रसंघले इरानको एक प्राथमिक विद्यालयमा भएको बम आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भएको बताएको छ। युएनेस्कोले जारी गरेको वक्तव्यमा भनिएको छ, “शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित स्थानमा अध्ययनरत विद्यार्थीहरूको हत्या हुनु विद्यालयलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले प्रदान गरेको सुरक्षाको गम्भीर उल्लंघन हो।”शनिबार अमेरिका र इजरायलले गरेको भनिएको उक्त बम आक्रमणमा १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ, जसमध्ये अधिकांश विद्यार्थी रहेका छन्। आक्रमणमा परी दर्जनौं अन्य घाइते भएका छन्।
अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार विद्यालय, अस्पतालजस्ता नागरिक संरचनाहरूलाई द्वन्द्वका बेला विशेष सुरक्षा प्रदान गरिन्छ। यस्ता संरचनामा जानाजानी आक्रमण गर्नु युद्ध अपराधको दायरामा पर्न सक्ने कानुनी विज्ञहरू बताउँछन्। घटनापछि अन्तर्राष्ट्रिय समुदायमा व्यापक आलोचना भइरहेको छ। मानवअधिकारवादी संस्थाहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्