खामेनी छोरा सय्यद मोज्तबा होसेनीलाई नयाँ सर्वोच्च नेतामा नियुक्त

Sagarmatha Post
Sagarmatha Post २५ फाल्गुन २०८२, सोमबार
2 Min Read
Aa

इरानमा अमेरिका र इजराइलको संयुक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा सय्यद मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त भएका छन्। ८८ जना धर्मुगुरू रहेको विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट्स)ले आइतबार मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो।विज्ञहरूको सभाले विज्ञप्ती जारी गरी नयाँ सर्वोच्च नेता नियुक्त गरिएको जनाएको छ। अमेरिकासहित इजराइलसँग जारी युद्धकै बीच गरिएको यो निर्णयले इरानमा कट्टरपन्थी शक्तिहरूको पकड अझै मजबुत रहेको संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

सर्वोच्च नेताको पद इरानको सबैभन्दा शक्तिशाली पद मानिन्छ। यस पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार हुन्छ।मोज्तबा खामेनी लामो समयदेखि इरानको सुरक्षा संयन्त्र तथा आर्थिक सञ्जालभित्र प्रभावशाली व्यक्तिका रूपमा चिनिँदै आएका छन्। आफ्ना पिता अली खामेनीको नेतृत्वमा रहेको शक्तिशाली संरचनाभित्र उनी प्रभावशाली भएकाले उत्तराधिकारीका रूपमा पहिलेबाटै अग्रपंक्तिमा रहेको विश्लेषण गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका थिए।इरानमा सर्वोच्च नेता अली खामेनी मारिएपछि ट्रम्पले त्यहाँका जनतालाई सत्ता नियन्त्रणमा लिन अपिल नै गरेका थिए। जनताले आफूलाई स्वीकार हुने व्यक्तिलाई नयाँ सर्वोच्च नेता चुनेको खण्डमा अमेरिका जस्तोसुकै सहयोग गर्न तयार रहेको भनेर ट्रम्पले बताएका थिए।

खामेनीकै छोरा मोज्तबा नयाँ सर्वोच्च नेता चयन भए के हुन्छ भनेर एबिसी न्युजले ट्रम्पलाई सोधेका थिए। ‘इरानको नयाँ नेतृत्व अमेरिकाले स्वीकार गर्ने हुनुपर्छ। त्यो भएन भने नयाँ नेतृत्व पनि धेरै टिक्दैन,’ एबिसीसँग ट्रम्पको भनाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।मोज्तबा नै सर्वोच्च नेता बनेको खण्डमा के हुन्छ हेर्नेछौं भनेर ट्रम्पले थप प्रतिक्रिया दिन नमानेको भनेर टाइम्स अफ इसराइलले जनाएको छ। इसराइलले भने नयाँ सर्वोच्च नेता चयन हुनु अघि नै जोसुकै नेता बने पनि उसलाई निशाना बनाइने चेतावनी दिएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्