रौतहटमा खसेका मतमध्ये २२ हजार ९९३ मत बदर

Sagarmatha Post
Sagarmatha Post २७ फाल्गुन २०८२, बुधबार
1 Min Read
Aa

रौतहट। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएको तथ्य सार्वजनिक भएको छ ।जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मतदानमा खसेका मतमध्ये २२ हजार ९९३ मत बदर भएको हो ।जिल्लाको चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । जसमध्ये २ लाख ९२ हजार ५२९ मत खसेको थियो । तर ती मतमध्ये ठुलो संख्यामा मत अमान्य ठहरिएपछि निर्वाचन प्रक्रियामा मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले निर्वाचनअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको स्वीकार गर्नुभयो ।“मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको थियो, तर पनि बदर मतको संख्या बढेको देखिन्छ,” उहाँले भन्नुभयो ।उहाँका अनुसार मतपत्रमा सही तरिकाले छाप नलगाउने, एकभन्दा बढी स्थानमा छाप लगाउने तथा मतपत्रको निर्दिष्ट स्थानभन्दा बाहिर छाप पर्ने जस्ता कारणले बदर मत बढेको हुन सक्ने अनुमान गरिएको छ ।निर्वाचन विश्लेषकहरूका अनुसार बदर मतको संख्या बढ्नु चिन्ताको विषय मानिन्छ। मतदाताले दिएको मत अमान्य हुनु भनेको उनीहरूको अभिव्यक्ति मतगणनामा समेटिन नसक्नु हो ।

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भइसकेको छ । तर ठुलो संख्यामा बदर मत देखिएपछि आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्