अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आयोग आग्रह

Sagarmatha Post
Sagarmatha Post २९ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि दिलाइदिने भन्ने हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले बाँकेको कोहलपुर नगरपालिकालगायतका क्षेत्रमा केही दिनयता मुगु र जाजरकोटलगायतका जिल्लाबाट अनधिकृत रुपमा मानिसहरु सम्पर्कमा ल्याई भूमि दिलाउने गरी गतिविधि बढिरहेको जनगुनासो आएकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न आग्रह गरेको बताए ।

“आयोगले विगत आयोगदेखिकै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको नियमानुसार लगत संकलन भई प्रणालीमा दर्ता भई निस्सा कायम रहेका सबै पुराना तथा नयाँ निवेदनहरुको बाँके जिल्लाका सबै स्थानीय तह हरुमा भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिमका पालिकास्तरमा भूमि शाखा गठन भई नियमानुसार कार्य सम्पादन गरिरहेको छ,” अध्यक्ष खनालले भने, “अनधिकृत रुपमा मानिसहरु सम्पर्कमा ल्याई भूमि दिलाउने गतिविधि गर्नु गलत हो, त्यसका पछाडि कोही नलाग्न अनुरोध छ ।”

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा बिहीबार अनधिकृत रुपमा जग्गा दिलाइदिने भन्दै गतिविधि भएपछि भूमि समस्या समाधान आयोग जिल्ला समितिले त्यसप्रति चासो दिएको अध्यक्ष खनालले बताए । अनधिकृत रुपमा जग्गा पाउने कुरा सम्भव नरहेकाले यससम्बन्धी कुनै जानकारी वा परामर्श गर्नु परेमा सम्बन्धित स्थानीय तहको भूमि शाखा वा आयोगको जिल्ला समितिमा सम्पर्क गर्न सरोकारवालाहरुलाई उनले अनुरोध गरेका छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्