नेप्से परिसूचक : मंगलबार दोहोरो अंकले सुधार

Sagarmatha Post
Sagarmatha Post १० चैत्र २०८२, मंगलवार
2 Min Read
Aa

मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आउँदा बजारले साढे २९ सय विन्दु पार गरेको छ।आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको हो। बजार खुलेसँगै केही उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सकारात्मक अन्त्य गरेको छ।

बजार सूचकसँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ। दिनभर भएका १ लाख २५ हजार कारोबारमार्फत ३४१ कम्पनीका ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।आजको कारोबारमा ११६ कम्पनीको सेयर मूल्य बढेको, १३५ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

त्यसैगरी आज तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। विशाल बजार कम्पनी, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।यस्तै सोल्टी होटल, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशत नजिकले बढेको छ। भने फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ।

समूहगत रूपमा हेर्दा आज ट्रेडिङ समूहमा ९.१२ प्रतिशत सुधार देखिएको छ भने विकास बैंक र हाइड्रोपावर समूहमा पनि एक प्रतिशतभन्दा बढी वृद्धि भएको छ। तर होटल, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहमा गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी अपी पावरको ५७ करोड ५५ लाख र एचआईडीसीएल प्रोमोटर सेयरको ४४ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार हुँदै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्