पर्यटक आगमनमा गिरावट

Sagarmatha Post
Sagarmatha Post २१ बैशाख २०८३, सोमबार
2 Min Read
Aa

पश्चिम एसिया युद्धको असर नेपालको पर्यटक आगमनमा देखिएको छ । नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमनमा ७.३ प्रतिशतको गिरावट आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ पर्यटक भित्रिएका छन् । जुन २०२५ अप्रिलको तुलनामा ७.३ प्रतिशतको गिरावट हो ।

गत वर्ष अप्रिलमा १ लाख १६ हजार ४ सय ९० पर्यटक भित्रिएका थिए । कोभिड महामारीभन्दा अगाडि २०१९ अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ पर्यटक आएका थिए ।बोर्डको तथ्यांक अनुसार क्षेत्रगत हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४ सय ३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो ।अन्य एसियाली देशबाट २६ हजार ७ सय २६, युरोप २१ हजार ९ सय ८८, ओसिनिया ५ हजार ८ सय ९८, अमेरिकी मुलुकबाट ११ हजार ३२, पश्चिम एसियाबाट १ हजार ६ सय ९७ र अफ्रिकी मुलुकबाट ३ सय १५ तथा अन्य मुलुकबाट ६ हजार ८ सय ४६ पर्यटक भित्रिएका छन् ।

मुलुकगत रूपमा भारतपछि चीन प्रमुख स्रोत बजारका रूपमा देखिएको छ । अन्य एसियाली देशबाट आगमन सुधार भए पनि युरोप र अमेरिकाबाट आउने पर्यटक संख्या घटेको छ ।भारतबाट २५ हजार १ सय ९६ पर्यटक आएका छन् । दोस्रोमा चीनबाट ११ हजार ७ सय २२, अमेरिका ८ हजार ७ सय २४ र बंगलादेश ५ हजार २ सय ३१, बेलायत ४ हजार ८ सय ८६, जर्मनी ३ हजार १ सय ४३ र मलेसियाबाट ३ हजार ८५ पर्यटक यो महिना भित्रिएका छन् ।पछिल्लो समय प‍श्चिम एसियामा चर्किंदो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध सिर्जना, अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावित लगायत कारण अप्रिलमा पर्यटक आगमनमा केही असर परेको बोर्डको विश्लेषण छ ।नेपालमा पर्यटक संख्या बढाउन डिजिटल मार्केटिङ तथा नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्ने थप योजना, कार्यक्रम र रणनीति आवश्यक रहेको समेत बोर्डले उल्लेख गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्