हुम्लामा बाढी र पहिरो : १८ परिवार सुरक्षित स्थानमा सारिए, विद्यालयसहितका भवन, गोठ र भेडाबाख्रा बगे

Sagarmatha Post
Sagarmatha Post ६ जेष्ठ २०८३, बुधबार
2 Min Read
Aa

हुम्ला ।  हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत पर्ने लिमिको तिल गाउँमा बिहीबार राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयवासीमा त्रास फैलिएको छ। राति ११ बजेदेखि तिल गाउँ र कञ्जुम गुम्बाबीच बग्ने सेखाङलुग्वा खोलामा बाढीसँगै पहिरो आएपछि गाउँ जोखिममा परेको हो ।वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार, तिल गाउँबाट गुम्बातर्फ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ भने खोलाले धार परिवर्तन गरेपछि निर्माणाधीन १५ किलोवाट क्षमताको तिल लघु जलविद्युत परियोजनाको पावर हाउस, सिँचाइ कुलो, आलु तथा उवा खेतीमा क्षति पुर्‍याएको छ । “गाउँमा अहिले पनि जोखिम कायमै छ, खोलाको धार गाउँतिर फर्किएकाले जतिबेला पनि थप क्षति हुन सक्ने सम्भावना छ,” अध्यक्ष तामाङले बताए ।

बाढी आएलगत्तै रातिको समयमा नै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको वडा सदस्य तेम्बा तुण्डुप लामाले जानकारी दिए। “मानविय क्षति नभए पनि १८ घरपरिवार जोखिममा परेका छन्,” उनले भने । हाल ती सबै परिवारलाई हिमशिखर आधारभूत विद्यालयको खुला चौरमा राखिएको छ।स्थानीयवासीका अनुसार सो क्षेत्रमा वर्षा नहुँदा नहुँदै अचानक बाढी आउनु हमिताल जस्तो माथिल्लो क्षेत्रमा रहेको ताल फुटेको कारण हुनसक्ने आशंका गरिएको छ।

यसबीचमा, बाढीको सूचना प्रहरीलाई शुक्रबार बिहानमात्रै प्राप्त भएको र तत्कालै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त १३ सदस्यीय टोली हिल्साबाट घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक संखर पोखरेलले बताए । “हिल्साबाट तिल गाउँ पुग्न करिब ६ घण्टा लाग्ने भएकाले प्रहरी पुगिसकेपछि मात्र वास्तविक क्षतिको विवरण आउन सक्नेछ,” डीएसपी पोखरेलले जानकारी दिए ।

चिसो मौसमका कारण गत कात्तिकमै लिमिबाट प्रहरी चौकी हटाइएको हुँदा पुनः स्थायी चौकी स्थापना गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए  । गाउँको दुई मिटर दूरीमै खोलाको बहाव आइपुगेको अवस्थामा स्थानीयवासी जोखिम मोलेर बस्न बाध्य छन् ।

sources:karnaalikhabar

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्