पाँचथर। अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो ।
बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा पहिरो जाँदा फिदिम–फालोट सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो पन्छाउने प्रयास जारी राखेको छ । यस्तै फिदिम–७ मा पर्ने नाम्दु खोल्सामा पहिरो जाँदा फिदिम–रानीटार–लुङरुपा सडक अवरुद्ध बनेको छ । यहाँ पनि नगरपालिकाले स्थानीयवासीको सहयोगमा सडक खुलाउने प्रयास जारी राखेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ । सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिनुभयो ।
यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ । गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्