काठमाडौँ, विश्वकप स्पेनी गृहयुद्ध, नाजी जर्मनीले अस्ट्रियामाथि कब्जा गरेको, इटालीमा मुसोलिनीका विद्रोही क्रियाकलाप तथा उरुग्वेको जारी बहिष्कारको छायामा सन् १९३८ मा विश्वकपको तेस्रो संस्करणको आयोजना भएको थियो ।दुई वर्ष पहिले फ्रान्सलाई प्रतियोगिता आयोजकका रूपमा चयन गरिएको थियो तर दक्षिण अमेरिकी फुटबल शक्ति राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरे । पहिलो विश्वकपका विजेता र उपविजेताको जिकिर थियो, दक्षिण अमेरिका र युरोपमा प्रतियोगिता आयोजना पालैपालो हुनुपर्दछ । उरुग्वे र अर्जेन्टिनाले विवाद झिके पनि ब्राजिल र क्युबाले सहभागिता जनाएर अमेरिकी क्षेत्रको प्रतिनिधित्व गरे ।
तेस्रो विश्वकपको समयमा युरोपमा राजनीतिक उथलपुथल व्यापक थियो र अनिश्चितताका बादल मडारिरहेका थिए । जर्मनीका नाजी शासक एडोल्फ हिटलरले नाजीवादको प्रचार गर्न दुई वर्षअघि नै बर्लिनमा ओलम्पिक आयोजना गर्नुले आफ्नो राजनीतिक विचारधाराको विस्तारका लागि खेलकुदलाई माध्यम बनाउनमा उहाँ नचुक्ने स्पष्ट अनुमान गर्न सकिन्थ्यो । तेस्रो विश्वकप आयोजना गर्ने अवसर फ्रान्सले पायो तर सो समय बलियो टिमका रूपमा कहलिएको अस्ट्रियाको सहभागिता भएन । जर्मनीले हमला गरेपछि अस्ट्रियाले विश्वकपमा भाग लिन नसकेको हो । विश्वकपमा अर्को हेर्नलायक टिम स्पेनको पनि अनुपस्थिति रह्यो । स्पेन गृहयुद्धको चपेटामा थियो । फुटबलको शक्ति राष्ट्र इङ्ग्ल्यान्ड पनि फिफासँगको झगडाले विश्वकपमा देखिएन । दक्षिण अमेरिकाका तर्फबाट ब्राजिलले मात्र सहभागिता जनायो । सन् १९३४ मा इटालीले विश्वकप आयोजना गर्ने अधिकार पाएपछि फेरि युरोपमै फुटबल महाकुम्भ हुने निर्णयले दक्षिण अमेरिकी राष्ट्रहरू चिढिएका थिए । यस विश्वकपमा एसियाले पनि पहिलो पटक सहभागिता जनाउने अवसर पायो । इन्डोनेसियाले डच इस्ट इन्डिजको नाममा विश्वकप फुटबल खेल्यो तर पहिलो चरणमै हङ्गेरीसँग ६–० ले हारेर इन्डोनेसिया चाँडै घर फक्र्यो ।
भिटोरियो पोजोको प्रशिक्षकत्वमा रहेको इटालीले लगातार दोस्रो पटक विश्वकप ट्रफी जित्यो । कोलम्बसमा भएको फाइनल खेलमा इटालीले हङ्गेरीलाई ४–२ ले हराएको थियो । यसअघि इटालीले सेमिफाइनलमा ब्राजिललाई २–१ ले पाखा लगाएको थियो । हङ्गेरीले सेमिफाइनलमा ३० सेकेन्डमै गोल खाए पनि स्विडेनलाई ५–१ ले सजिलै हरायो । इटालीका कप्तान ग्युसेपी मिएजा स्टार खेलाडी बन्नुभयो । प्रतियोगितामा कालो मोती ‘ब्लाक डायमन्ड’ भनिएका लियोनिडास डा सिल्भाले सर्वाधिक आठ गोल गर्नुभएको थियो । पोल्यान्डलाई ६–५ गोल अन्तरले हराएको खेलमा डा सिल्भाले चार गोल गर्नुभएको थियो ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्