काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताउनुभएको छ। राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।
“गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो”, उहाँले भन्नुभयो ।
उहाँले म आशा गर्छु कि गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ संवृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नेछौँ भन्नुभयो । राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो भन्नुभयो ।
“यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र संवृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्