रबिन थपलिया । काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन तथा उद्यमशीलताको जग बलियो बनाउने उद्देश्यसहित तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको मखमली जुत्ता–चप्पल निर्माणसम्बन्धी एक महिने सीपमूलक तालिम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको विशेष अनुदानमा सञ्चालित “सशक्तीकरण, उद्यमशीलता तथा क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको उक्त तालिमले सहभागी महिलाहरूमा आत्मविश्वास, सीप र उद्यमशील सोचको विकास गरेको नगरपालिकाले जनाएको छ।

२०८२ वैशाख १५ गतेदेखि जेठ १३ गतेसम्म सञ्चालन भएको तालिममा तारकेश्वर नगरपालिका वडा नं. ९ अन्तर्गतको भिन्तुना पुचका महिलाहरूले सामूहिक रूपमा सहभागिता जनाएका थिए। तालिममार्फत सहभागीहरूले मखमली जुत्ता–चप्पल तथा मखमली थैली निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र व्यवसायिक सीप हासिल गरेका छन्।
तालिम समापन कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले सीप र श्रमलाई उत्पादनसँग जोड्न सके मात्रै आर्थिक समृद्धिको आधार निर्माण हुने बताइन्। उनले महिलाहरूलाई घरभित्र सीमित नभई उद्यमशील गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै नगरपालिकाले महिला सशक्तीकरणका कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइरहेको उल्लेख गरिन्।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले स्थानीय स्रोत, सीप र श्रमलाई उपयोग गर्दै स्वरोजगार सिर्जना गर्नु आजको आवश्यकता भएको बताए। उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिक उत्पादनमा केन्द्रित हुन सहभागी महिलाहरूलाई आग्रह गरे।

त्यसैगरी, नगरपालिकाका प्रशासन शाखा प्रमुख शम्भु प्रकाश शर्माले सीप विकासका कार्यक्रमले सामाजिक तथा आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। वडा सदस्य लक्ष्मी अधिकारीले महिलाहरूको सक्रिय सहभागिता र उत्साहले कार्यक्रमको प्रभावकारिता पुष्टि गरेको बताइन्।
तालिमका प्रशिक्षकले छोटो अवधिको तालिम भए पनि सहभागी महिलाहरूले उल्लेखनीय दक्षता हासिल गरेको उल्लेख गर्दै उनीहरू व्यवसायिक उत्पादनमा सफल हुने विश्वास व्यक्त गरे। सहभागी महिलाहरूले समेत तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताउँदै सीपलाई आयआर्जनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
तालिम सम्पन्न भएसँगै भिन्तुना पुचका महिलाहरूले सामूहिक रूपमा जुत्ता–चप्पल उत्पादन उद्योग सञ्चालन गर्ने तयारी गरेका छन्। उनीहरूले निर्माण गरेका मखमली जुत्ता–चप्पल तथा मखमली थैली कार्यक्रमस्थल तथा वडा नं. ९ कार्यालय परिसरमा प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो। स्थानीय उत्पादनप्रति उपस्थितहरूको उत्साहजनक चासो देखिएको आयोजकले जनाएको छ।
नगरपालिकाका अनुसार समूह विधिवत् दर्ता भएपछि सहभागी महिलाहरूलाई मखमली जुत्ता निर्माणका लागि आवश्यक डाइ तथा मखमली थैली उत्पादनका सामग्रीहरू ८० प्रतिशत अनुदानमा उपलब्ध गराइनेछ। यसले उद्यम सञ्चालनको प्रारम्भिक चरणमा आर्थिक भार कम गर्दै उत्पादनलाई व्यवसायिक रूप दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तारकेश्वर नगरपालिकाका लघु उद्यम शाखा प्रमुख रामहरि न्यौपानेले चालु आर्थिक वर्षमा नगरपालिकाले सात प्रकारका सीपमूलक तथा उद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार महिलालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले आयआर्जनका अवसर विस्तार गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुर्याइरहेका छन्।“सीप केवल प्रमाणपत्रमा सीमित हुने विषय होइन, यो जीवन रूपान्तरणको माध्यम हो,” न्यौपानेले भने, “तालिमबाट प्राप्त ज्ञान र दक्षतालाई उत्पादन र बजारसँग जोड्न सके सहभागी महिलाहरू सफल उद्यमीका रूपमा स्थापित हुन सक्नेछन्। नगरपालिकाले त्यसका लागि आवश्यक सहजीकरण र प्राविधिक सहयोग निरन्तर उपलब्ध गराउनेछ।”
स्थानीय तहको पहल, प्रदेश सरकारको सहयोग र महिलाहरूको सक्रिय सहभागिताले यो कार्यक्रम केवल तालिममा सीमित नरही उद्यमशीलताको वास्तविक अभ्यासतर्फ उन्मुख भएको देखिन्छ। सीप, श्रम र सामूहिकताको संयोजनमार्फत आत्मनिर्भरता हासिल गर्ने महिलाहरूको यो प्रयास स्थानीय आर्थिक विकासको एक प्रेरणादायी उदाहरण बन्ने विश्वास गरिएको छ।



gdg


प्रतिक्रिया दिनुहोस्