ठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत पिकअप भ्यान दुर्घटना हुँदा इन्जिनियर सहित दुई जनाको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २८ जेष्ठ २०८३, बिहीबार
1 Min Read
Aa

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमार क्षेत्रमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप भ्यान सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए। बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्ट ट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग सिस्नेरी बेस क्याम्पबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो। टोलीले दुवै जनालाई गम्भीर अवस्थाबाट उद्धार गरी उपचारका लागि पठाएको थियो।

राति भएको दुर्घटनापछि दुर्गम भूगोल र उद्धारको जटिलताका कारण घाइतेहरूलाई बिहीबार बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्