दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ ।दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार सियोल सेन्ट्रल डिस्ट्रिक्ट अदालतले युनलाई पदको दुरुपयोग तथा शत्रुलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।युनले उत्तर कोरियासँग नियोजित रूपमा तनाव बढाउने र डिसेम्बर २०२४ मा ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो असफल प्रयासलाई औचित्य दिन यस्तो कदम चालेका थिए ।
युनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन् । शुक्रबार उनीसँगै पूर्वरक्षामन्त्री किम योङ ह्यनलाई पनि ३० वर्षकै जेल सजाय सुनाइएको छ ।सन् २०२४ को अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु भएको थियो । त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो । अप्रिल २०२५ मा उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए ।यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो । अदालतले सैनिक शासन घोषणा गर्ने उनको निर्णय संसदलाई निष्क्रिय बनाउने उद्देश्यबाट प्रेरित रहेको ठहर गरेको थियो ।
के थियो ड्रोन प्रकरण ?
उत्तर कोरियाले अक्टोबर २०२४ मा दक्षिण कोरियाले प्रचार सामग्री खसाल्ने उद्देश्यले आफ्नो भूभागमाथि तीनपटक ड्रोन उडाएको आरोप लगाएको थियो ।तत्कालीन रक्षामन्त्री किमले सुरुमा उक्त आरोपलाई स्पष्ट रूपमा स्वीकार वा अस्वीकार गरेका थिएनन् । त्यसपछि दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि घटनाबारे पुष्टि वा खण्डन गर्न नसकिने जनाएको थियो ।
युनका वकिलहरूले भने उनले ड्रोन घुसपैठको आदेश नदिएको र त्यसलाई पछि स्वीकृति पनि नदिएको दाबी गरेका छन् । उनीहरूको तर्कअनुसार उत्तर कोरियाले सीमापार फोहोरयुक्त बेलुन पठाएको प्रतिक्रियास्वरूप गरिएको भनिएको यो कारबाही आत्मरक्षाको वैध कदम थियो ।हाल हिरासतमा रहेका युनले तल्लो अदालतको यस निर्णयविरुद्ध पुनरावेदन गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्