जनअपेक्षा समेट्दै तारकेश्वरको बजेट तयारी : खानेपानी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सर्वपक्षीय सुझाव

Sagarmatha Post
Sagarmatha Post २ असार २०८३, मंगलवार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं। आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, योजना तथा बजेटलाई जनताको आवश्यकता, स्थानीय प्राथमिकता र सरोकारवालाको सुझावअनुसार थप व्यवहारिक, समावेशी र जनमुखी बनाउने उद्देश्यले तारकेश्वर नगरपालिकाले सर्वपक्षीय सुझाव सङ्कलन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
नगरपालिकाको सभाहल धर्मस्थलीमा आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व रक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधान, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अग्रज व्यक्तित्व, पत्रकार तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएकाले नागरिकको दैनिक जीवनसँग सम्बन्धित विषयलाई केन्द्रमा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्ने सुझाव दिए। उनले विकास योजनामा राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर दीर्घकालीन सोच, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा आधारभूत सेवाको गुणस्तर अभिवृद्धितर्फ नगरपालिका केन्द्रित हुनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले प्रदेश र स्थानीय तहबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायलाई लक्षित कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिइन्। समावेशी विकासमार्फत नागरिकको जीवनस्तर उकास्न सकिने उनको विश्वास थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनले आगामी आर्थिक वर्षको नीति तथा बजेटमा खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकताका साथ समेटिने स्पष्ट पारे। नगरवासीका आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याइने उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र सुरक्षित खानेपानीको पहुँच विस्तार नगरपालिकाको प्रमुख प्राथमिकता रहने बताए।
उनले शिक्षक अभाव भएका सामुदायिक विद्यालयमा आवश्यक व्यवस्थापन, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी समस्याको दीर्घकालीन समाधान तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर योजना निर्माण गरिने जानकारी दिए।
कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य व्यक्त गर्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना भुर्लाकोटीले स्थानीय सरकारको नीति तथा कार्यक्रम जनताका वास्तविक आवश्यकता र अपेक्षासँग जोडिनुपर्ने बताइन्। विकास योजनाहरू निर्माण गर्दा सबै पक्षको सहभागिता सुनिश्चित गर्न सके मात्र समृद्ध र उत्तरदायी स्थानीय शासनको आधार तयार हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिले जनताको वास्तविक समस्या र आवश्यकतालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्दै क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन प्रतिफल दिने योजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए। उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र पूर्वाधार विकासलाई नागरिकको जीवनस्तरसँग प्रत्यक्ष जोडेर योजना निर्माण गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिका उपसभापति लक्ष्मण तिमल्सिनाले नीति तथा बजेट निर्माण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले बजेटको प्रभावकारी कार्यान्वयन, अनुगमन प्रणालीको सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव प्रस्तुत गरे।
त्यसैगरी नेकपा (एमाले) का प्रतिनिधि वासु गौतमले नगरपालिकाले विकास योजनाको छनोट गर्दा दीर्घकालीन प्रतिफल दिने योजनालाई प्राथमिकता दिनुपर्ने सुझाव दिए। उनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक क्षेत्र, पूर्वाधार विकास, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गरे।
पूर्व प्रशासक केदार बोगटीले स्थानीय तहमा प्रशासनिक सुधारको आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन सुझाव दिए। कर्मचारी व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउँदै सुशासनलाई व्यवहारमा उतार्नुपर्ने उनको भनाइ थियो।
अर्थविद् डा. केशवराज खड्काले उपलब्ध स्रोत र साधनको यथार्थ मूल्याङ्कन गर्दै उत्पादनमुखी, आर्थिक प्रतिफल दिने तथा दिगो विकासमा टेवा पुग्ने कार्यक्रम ल्याउन सुझाव दिए। उनले बजेट विनियोजन गर्दा आवश्यकता, प्राथमिकता र उपलब्धिको स्पष्ट आधार तय गर्नुपर्ने तथा वित्तीय अनुशासनमा विशेष ध्यान दिनुपर्ने बताए।
प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकीले तारकेश्वर नगरपालिकाले शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तीन पटक सफलता हासिल गरेर तारकेश्वरले विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै उनले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा नगरपालिकाले महत्वपूर्ण योगदान पु¥याइरहेको बताए। शिक्षा र खेलकुद क्षेत्रमा भइरहेको लगानीले भविष्यमा अझ सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गर्दै उनले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।
त्यसैगरी तारकेश्वर सामुदायिक विद्यालयसंघका अध्यक्ष कृष्ण ओझाले सामुदायिक विद्यालयमा नगरपालिकाले गरेको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको बताए। शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र आवश्यक स्रोत व्यवस्थापनका कारण पूर्वी काठमाडौंका अन्य स्थानीय तहको तुलनामा तारकेश्वर नगरपालिका शैक्षिक क्षेत्रमा अब्बल सावित भएको उनको दाबी थियो।
तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खड्गीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्साल, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, नगरपालिकाका विभिन्न बिषयगत शाखाका प्रमुख एवं कर्मचारी लगायतको उपस्थीति रहेको थियो ।
सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूले पूर्वाधार विकास, कृषि, वातावरण संरक्षण, सामाजिक सुरक्षा, रोजगार सिर्जना, सुशासन तथा सेवा प्रवाह सुधारका विषयमा समेत महत्वपूर्ण सुझाव दिएका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्