मधेशमा सुधारको छाप छोड्दै काठमाण्डौं प्रस्थान : आठ महिनामै घुमुवा प्रहरी र बिचौलिया सञ्जालविरुद्ध डिआईजी गोविन्द थपलियाको ‘क्लिनअप अभियान’ चर्चामा

Sagarmatha Post
Sagarmatha Post ४ असार २०८३, बिहीबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा करिब आठ महिने कार्यकाल पूरा गरेका डिआईजी गोविन्द थपलिया केही दिनअघि मात्रै सरुवा भएर काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पुगेका छन्। अब उनले देशकै राजधानी रहेको अति संवेदनशील मानिने काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको समग्र सुरक्षा व्यवस्थापन सम्हाल्नेछन्। मधेश प्रदेशबाट उनको बिदाइसँगै उनले थालेका सुधारका अभियान, प्रहरी संगठनभित्रको आन्तरिक शुद्धीकरण र घुमुवा प्रहरी तथा बिचौलिया सञ्जालविरुद्धका कदमहरू पुनः चर्चाको केन्द्रमा आएका छन्।
मधेश प्रदेश प्रहरीको नेतृत्व सम्हाल्नेबित्तिकै डिआईजी थपलियाले प्रहरी संगठनभित्र वर्षौंदेखि मौलाउँदै आएको भनिएको ‘घुमुवा प्रहरी संस्कृति’ विरुद्ध अभियान सुरु गरेका थिए। प्रहरी प्रशासनभित्र लामो समयदेखि काज तथा विभिन्न प्रभावका आधारमा एउटै क्षेत्रमा बस्दै आएका प्रहरी कर्मचारीमाथि उनले कडा निगरानी थालेका थिए। प्रहरी स्रोतहरूका अनुसार उनको कार्यकालमा जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० जना प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएर दरबन्दी भएका स्थान वा प्रदेश बाहिर खटाइएको थियो।
यो कदमले प्रहरी संगठनभित्र वर्षौंदेखि स्थापित केही स्वार्थ समूहलाई प्रत्यक्ष असर गरेको बताइन्छ। सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध कारोबार र बिचौलिया नेटवर्कसँग जोडिएका गतिविधिहरूमाथि निगरानी बढेपछि केही समूह असन्तुष्ट बनेका थिए। सुधार अभियानसँगै विभिन्न समयमा सामाजिक सञ्जाल र केही माध्यममार्फत डिआईजी थपलियालाई विवादमा तान्ने प्रयाससमेत भएको थियो।तर उनले आफ्नो अभियानलाई कुनै पनि दबाब वा प्रचारबाजीले रोक्न नसकेको बताउँदै आएका छन्। उनका अनुसार आफूले पदमा कति समय बिताएँ भन्नेभन्दा पनि प्रहरी संगठन र नागरिकको हितका लागि कति सुधार गर्न सकियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।उनले पटक–पटक सार्वजनिक रूपमा मधेश प्रदेश प्रहरीभित्र रहेको घुमुवा प्रहरी प्रणालीलाई संगठनको दीर्घकालीन विकृतिका रूपमा चित्रण गर्दै त्यसको अन्त्यका लागि सुधार अभियान थालेको बताएका थिए। उनका अनुसार प्रहरी प्रशासनलाई नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन आन्तरिक शुद्धीकरण अपरिहार्य थियो।

उनको नेतृत्वमा प्रहरी कार्यालयका मुद्दा शाखा तथा सेवा प्रवाहसँग जोडिएका संवेदनशील क्षेत्रमा पनि निगरानी बढाइएको थियो। बिचौलियाको प्रभाव कम गर्दै सर्वसाधारण नागरिक, विशेष गरी निम्न वर्ग, विपन्न र पीडित समुदायलाई न्यायमा सहज पहुँच दिलाउने प्रयास गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।
प्रहरी वृत्तमा डिआईजी थपलियाको कार्यकाललाई मधेश प्रदेश प्रहरीभित्र सुधारको आधार तयार गर्ने अवधिका रूपमा हेरिएको छ। यद्यपि सुधारको यो अभियान पूर्ण नभएको र संगठनभित्र अझै धेरै काम गर्न बाँकी रहेको स्वयं थपलियाले विभिन्न अवसरमा उल्लेख गर्दै आएका छन्।उनले एकपटक भनेका थिए, “यो सुरुआत मात्र हो, मधेश प्रदेश प्रहरीमा सुधारका लागि अझै धेरै काम गर्न बाँकी छ। संगठनलाई पूर्ण रूपमा पारदर्शी र व्यावसायिक बनाउन निरन्तर प्रयास आवश्यक छ।”
सुरक्षा विश्लेषकहरूका अनुसार मधेश प्रदेशजस्तो संवेदनशील क्षेत्रमा प्रहरी संगठनभित्रको आन्तरिक सुधार र अनुशासन कायम गर्ने प्रयास आफैंमा चुनौतीपूर्ण विषय हो। खुला सीमा, तस्करी, आर्थिक अपराध र राजनीतिक प्रभावका बीच प्रहरी प्रशासनलाई निष्पक्ष र प्रभावकारी बनाउनु सहज काम होइन। यस्तो अवस्थामा डिआईजी थपलियाले थालेका कदमहरूले प्रहरी संगठनभित्र सुधारको सन्देश दिएको उनीहरूको बुझाइ छ।अब उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पुगेका छन्, जहाँ राजधानीका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी उनको काँधमा आएको छ। देशको प्रशासनिक, राजनीतिक र आर्थिक केन्द्र मानिने उपत्यकाको सुरक्षा व्यवस्थापन मधेशभन्दा कम चुनौतीपूर्ण छैन। त्यसैले मधेशमा थालेको सुधारको शैली र नेतृत्व क्षमताको परीक्षा अब राजधानीमा हुने धेरैको अपेक्षा छ।
यता मधेश प्रदेशमा भने उनले सुरु गरेको आन्तरिक शुद्धीकरण अभियानलाई निरन्तरता दिने चुनौती नयाँ नेतृत्वसामु खडा भएको छ। घुमुवा प्रहरी व्यवस्थापन, बिचौलिया प्रभाव नियन्त्रण, सेवा प्रवाह सुधार र संगठनभित्र अनुशासन कायम राख्ने विषयलाई निरन्तरता दिन नसकिए विगतका सुधार प्रयासहरू कमजोर बन्न सक्ने चिन्ता पनि व्यक्त हुन थालेको छ।आठ महिनाको छोटो अवधिमा डिआईजी गोविन्द थपलियाले मधेश प्रदेश प्रहरीमा सुरु गरेको सुधार अभियानले प्रहरी संगठनभित्र नयाँ बहस जन्माएको छ। समर्थकहरू यसलाई प्रहरी प्रशासनको आन्तरिक शुद्धीकरणतर्फको साहसिक पहल मान्छन् भने आलोचकहरू यसको दीर्घकालीन प्रभावलाई अझै मूल्यांकन गर्नुपर्ने बताउँछन्। तर एउटा कुरा भने स्पष्ट छ—मधेशबाट राजधानी सरुवा भएर जाँदा डिआईजी थपलियाले सुधार, अनुशासन र संगठनात्मक परिवर्तनको एउटा छाप भने छोडेर गएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्