काठमाडौं, असार ७ । मानव जीवनलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सुदृढ बनाउने उद्देश्यका साथ “Yoga for Healthy Ageing (स्वस्थ वृद्धावस्थाको लागि योग)” भन्ने मूल नारालाई आत्मसात् गर्दै १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एन्जलस् हार्ट नेशनल स्कुल र युवा नेपाल समिति, बागमती प्रदेशको संयुक्त आयोजनामा विशेष योग तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य र योग क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व एन्जलस् हार्ट नेशनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले गर्नुभएको थियो भने सञ्चालन युवा नेपाल समिति, बागमती प्रदेशका प्रदेश प्रभारी तथा योग प्रशिक्षक कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा रिड मोडेल स्कुलका प्रिन्सिपल, हिमालय वाल्डोर्फ स्कुलका संस्थापक, शिक्षक-शिक्षिका, विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक तथा योग खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा अन्तर्राष्ट्रिय योग दिवसको ऐतिहासिक पृष्ठभूमि, यसको विश्वव्यापी महत्व तथा समकालीन जीवनशैलीमा योगको अपरिहार्यतामाथि प्रकाश पारिएको थियो। वक्ताहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव, शारीरिक निष्क्रियता, विभिन्न दीर्घरोग तथा अस्वस्थ जीवनशैलीका चुनौतीहरूलाई न्यूनीकरण गर्न योग प्रभावकारी माध्यमका रूपमा स्थापित भएको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको मुख्य आकर्षण अन्तर्राष्ट्रिय योग दिवसको निर्धारित प्रोटोकलअनुसार सञ्चालन गरिएको सामूहिक योगाभ्यास रहेको थियो। योग प्रशिक्षक कुमार श्रेष्ठको नेतृत्वमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए। नियमित योग अभ्यासले शरीरलाई लचिलो, मनलाई शान्त र विचारलाई सकारात्मक बनाउने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो। योगाभ्यासमा विद्यार्थीदेखि अभिभावकसम्मको सक्रिय सहभागिताले स्वास्थ्यप्रति बढ्दो सचेतनाको संकेत गरेको सहभागीहरूले बताएका थिए।
यस अवसरमा युवा नेपाल समितिद्वारा प्रस्तुत गरिएको सांगीतिक व्यायाम, लेजियम तथा तालबद्ध शारीरिक अभ्यासले कार्यक्रमलाई थप जीवन्त र आकर्षक बनाएको थियो। संगीतको लयसँगै प्रस्तुत गरिएका व्यायामहरूले शारीरिक तन्दुरुस्ती र सामूहिक अनुशासनको अनुपम उदाहरण प्रस्तुत गरेका थिए। उपस्थित दर्शकहरूले प्रस्तुति प्रति उत्साहजनक प्रतिक्रिया जनाएका थिए।
कार्यक्रममा प्रथम अन्तर्राष्ट्रिय योग आसन प्रतियोगिताका प्रतियोगीहरूले समेत कठिन तथा आकर्षक योगासनहरूको विशेष प्रदर्शन गरेका थिए। उनीहरूले प्रस्तुत गरेका जटिल आसनहरूले योग केवल शारीरिक अभ्यास मात्र नभई एकाग्रता, आत्मअनुशासन, सहनशीलता र निरन्तर साधनाको परिणाम भएको सन्देश प्रवाह गरेका थिए। उनीहरूको प्रदर्शनले उपस्थित सहभागीहरूलाई योगप्रति थप प्रेरित गरेको देखिन्थ्यो।
यसैबीच विद्यालयको तर्फबाट कार्यक्रमका अतिथि, प्रशिक्षक तथा योग खेलाडीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गरिएको थियो। योग तथा स्वास्थ्य प्रवर्द्धनका क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मानले समाजमा सकारात्मक कार्यप्रति प्रोत्साहन र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो।
समापन मन्तव्यका क्रममा सभापति टक बहादुर थापाले योगलाई मानव जीवनको समग्र विकाससँग जोडिएको वैज्ञानिक र सांस्कृतिक अभ्यासका रूपमा व्याख्या गर्नुभयो। उहाँले स्वस्थ वृद्धावस्था सुनिश्चित गर्न तथा जीवनभर सक्रिय, ऊर्जावान र सकारात्मक रहन योगलाई जीवनशैलीकै अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै कार्यक्रमको सफल आयोजनामा योगदान पुर्याउने सम्पूर्ण आयोजक, शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
स्वस्थ, अनुशासित र चेतनशील समाज निर्माणका लागि योगको सन्देश फैलाउने उद्देश्यका साथ सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूमा स्वास्थ्यप्रति जागरण, आत्मअनुशासन र सकारात्मक जीवनदृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको विश्वास रहेको छ। “योग गरौँ, निरोगी बनौँ; स्वस्थ वृद्धावस्थाको लागि योगलाई जीवनको अभिन्न अङ्ग बनाऔँ” भन्ने प्रेरणादायी सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्