३०औँ मुख्यसचिवको दौडमा १० सचिव, कार्यकुशलता मुख्य आधार बन्ने संकेत

Sagarmatha Post
Sagarmatha Post ८ असार २०८३, सोमबार
3 Min Read
Aa

काठमाडौं । नेपाल सरकारका २९औँ मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिव को बन्ने भन्ने चर्चा प्रशासनिक वृत्तमा तीव्र बनेको छ। प्रशासनिक सेवाको सर्वोच्च पद मुख्यसचिवका लागि हाल १० जना सचिव प्रतिस्पर्धामा देखिएका छन्।

निजामती सेवा ऐन, २०४९ को दफा १९(२)(क) अनुसार मुख्यसचिवमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा नेपाल सरकारले छनोट गर्ने व्यवस्था छ। यसअघि मुख्यसचिव नियुक्तिमा वरिष्ठतालाई प्राथमिकता दिइने परम्परा रहे पनि यसपटक कार्यकुशलतालाई बढी महत्व दिन सकिने संकेत देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार समूहले सम्भावित उम्मेदवार सचिवहरूको कार्यसम्पादन र नेतृत्व क्षमताको मूल्याङ्कन गरिरहेको छ। स्रोतका अनुसार वरिष्ठता मात्रै नभई सुशासन, अनुशासन र परिणाममुखी प्रशासन सञ्चालन गर्न सक्ने क्षमतालाई पनि आधार बनाइनेछ।

को–को छन् प्रतिस्पर्धामा ?

मुख्यसचिव नियुक्तिको मितिसम्म वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा रहनेछन्। त्यसपछि हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, गोविन्दप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, गोपाल सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला क्रमशः प्रतिस्पर्धी सूचीमा छन्।

हाल वरिष्ठतामा माथि रहेका तीन सचिव—मधुसुदन बुर्लाकोटी, प्रमिलादेवी शाक्य बज्राचार्य र कृष्णहरि पुस्कर—मुख्यसचिव अर्यालभन्दा अगावै अनिवार्य अवकाशमा जाने भएकाले प्रतिस्पर्धाबाट बाहिरिनेछन्।

वरिष्ठता कि कार्यकुशलता ?

हालै प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठता क्रमभन्दा बाहिर गएर निर्णय गरिएको उदाहरणलाई लिएर मुख्यसचिव नियुक्तिमा पनि रोलक्रम मिचिन सक्ने चर्चा प्रशासनिक वृत्तमा छ। प्रधानमन्त्री निकट स्रोतहरूका अनुसार यसपटक वरिष्ठताभन्दा कार्यकुशलता, नेतृत्व क्षमता र प्रशासनिक परिणामलाई मुख्य आधार बनाउने तयारी भइरहेको छ।

किरणराज शर्मा अगाडि, तर अवधि छोटो

यदि वरिष्ठताका आधारमा किरणराज शर्मा मुख्यसचिव नियुक्त भएमा उनी २०८४ कात्तिकसम्म पदमा रहन सक्नेछन्। तर मुख्यसचिव नबनेको अवस्थामा भने उनी आगामी साउन ४ गते पाँच वर्षे सेवा अवधि पूरा गरी अवकाशमा जानेछन्। शर्मा नियुक्त भएमा हाल प्रतिस्पर्धामा रहेका अन्य नौ सचिव उनीभन्दा अगाडि नै अनिवार्य अवकाशमा पुग्ने अवस्था छ।

एक साताभित्र टुंगो लाग्ने सम्भावना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सम्भावित उम्मेदवार सचिवहरूको फाइल अध्ययन र मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ। मुख्यसचिव नियुक्तिबारे आगामी एक साताभित्र निर्णय हुने सम्भावना रहेको बताइएको छ।

यसपटकको नियुक्तिले प्रशासनिक नेतृत्वमा वरिष्ठताको निरन्तरता कायम हुन्छ वा कार्यसम्पादनलाई प्राथमिकता दिने नयाँ अभ्यास सुरु हुन्छ भन्ने चासो बढेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्