नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था ‘फेसियल हाउस’ ले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित एक विशेष समारोहका बीच व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ र सञ्चार उद्यमी एवं महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले नयाँ शाखाको उद्घाटन गरे।
गुणस्तरीय सौन्दर्य सेवालाई आम नागरिकको पहुँचसम्म पुर्याउने उद्देश्यले सितापाइलामा सेवा विस्तार गरिएको संस्थाले जनाएको छ। शाखा विस्तारबारे बोल्दै फेसियल हाउसकी संस्थापक सुश्मा महराले सितापाइला र आसपासका सेवाग्राहीलाई अब सौन्दर्य तथा स्किन केयर सेवाका लागि टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताइन्।
उनले भनिन्, ‘काठमाडौंका विभिन्न स्थानमा पुगेर सेवा लिनुपर्ने अवस्था अब धेरै हदसम्म अन्त्य भएको छ। ग्राहकको सहजताका लागि हामीले आधुनिक प्रविधिसहितको सेवा आफ्नै घरदैलोमा उपलब्ध गराएका हौं।’कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विकासले मात्रै देशको अर्थतन्त्र सुदृढ हुने र रोजगारी सिर्जना हुने धारणा राखे।
उनले फेसियल हाउसले २०० भन्दा बढी युवालाई रोजगारी दिएर उदाहरणीय काम गरेको उल्लेख गर्दै भने, ‘रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। यसले देशको अर्थतन्त्रलाई समेत महत्वपूर्ण टेवा पुर्याएको छ।’सञ्चार उद्यमी शोभा ज्ञवालीले झण्डै तीन दशकदेखि एउटै क्षेत्रमा निरन्तर मेहनत गरेर सफल व्यवसाय निर्माण गर्नु प्रेरणादायी रहेको बताइन्। ‘२८ वर्षदेखिको निरन्तर मेहनतले नै आज फेसियल हाउसलाई यो स्थानमा पुर्याएको हो। महिलाले पनि व्यवसाय र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने यो एउटा बलियो उदाहरण हो,’ उनले भनिन्।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसले केवल सुन्दरता मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याइरहेको बताइन्। उनले यस्ता संस्थाको विस्तारले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले हाल काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा आफ्नो सेवा प्रदान गरिरहेको छ।
संस्थाले काठमाडौं र चितवनमा ‘फेसियल एकेडेमी’ समेत सञ्चालन गरी सौन्दर्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्