राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २९ असार २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। विभागले एक सूचना जारी गर्दै आज (असार २९ गते) देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको हो। यस ऐतिहासिक स्थानान्तरणका क्रममा करिब १ करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ।

सुरुवाती दिनमा प्राविधिक चुनौती आउन सक्ने
नयाँ प्रणाली कार्यान्वयन भएसँगै सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौतीहरू देखिनु स्वाभाविक भएको विभागको भनाइ छ। यसले गर्दा प्रणालीमा केही सुस्तता आउने र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावना औँल्याइएको छ।प्रणालीमा आउन सक्ने सम्भावित समस्याहरूलाई तत्काल समाधान गर्न विभागको प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू २४सै घण्टा खटिएका जनाइएकाे छ।

प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधार भइरहेकाले देखिएका समस्याहरूको शीघ्र र दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको जारी सूचनामा उल्लेख छ।

अत्यावश्यक भएकाहरूलाई मात्र आवेदन दिन आग्रह

नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन विभागले सेवाग्राहीहरूसँग सहयोगको अपिल गरेको छ। प्रणालीको सुरुवाती चरणमा अत्यावश्यक राहदानी चाहिने सेवाग्राहीहरूले मात्र आवेदन दिन विभागले अनुरोध गरेको हो। साथै, राहदानी सेवा सम्बन्धी कुनै पनि भ्रममा नपरी विभाग वा मन्त्रालयको आधिकारिक माध्यमहरूबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन समेत सम्पूर्ण सेवाग्राहीहरूमा आग्रह गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्