जनस्वास्थ्य क्षेत्र संग सम्बन्धित ऐन बनाउन  सरकार र संसदलाई सुझाव दिन आग्रह

Sagarmatha Post
Sagarmatha Post ५ आश्विन २०८१, शनिबार
3 Min Read
Aa

काठमाडौं, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले जनस्वास्थ्य क्षेत्र संग जोडिएका समस्या समाधानका लागि आवश्यक ऐन  बनाउन सरोकारवालालाई आग्रह गर्नुभएको छ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानको १५ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष घिमिरेले स्वास्थ्यको अधिकार संग जोडिएका कानुन बनाउन र सुधार गर्न सरकार र संसदलाई सुझाव दिन जनस्वास्थ्यविद्हरु संग आग्रह गर्नुभएको हो । उहाँले सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने कुरा दिगो विकासको लक्ष्यमा समेत स्पष्ट भएको बताउँदै आवश्यक ऐन र कानुन बनाउन तथा  सहजीकरण गर्न सदैव तयार रहेको पनि बताउनुभयो ।

पछिल्लो समयमा मानिसको मृत्युदर घटेको तर रोगी भएर बाँच्ने क्रम बढेको भन्दै रोग लागेपछि उपचार गर्नुभन्दा भन्दा रोग लाग्नै नदिनका लागि जनस्वास्थ्य सुधारको काममा राज्य र संसदले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । ‘रोग लागेपछि महंगो उपचार गर्नुभन्दा रोग लाग्नै नदिन खोप, जनचेतना, आहारबिहार सुधार गर्नु अहिलेको आवश्यकता हो ।’, उहाँले भन्नुभयो ‘राज्यले जनस्वास्थ्यको अवस्थामा अझै सुधार गर्न आवश्यक कानुन बनाउन र स्रोत साधन परिचालनलाई प्राथमिकता दिनुपर्छ।’ अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण पनि जनस्वास्थ्य क्षेत्रमा चाहे अनुसार सुधार नभएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न आग्रह पनि गर्नुभयो ।

जनस्वास्थ्यको क्षेत्रमा नागरिक संग तल्लो तहमा काम गर्ने महिला स्वास्थ्य स्वंसेविकालाई तालिम र सुविधा दिएर परिचालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । उपाध्यक्ष घिमिरेले जनस्वास्थ्यको बिषय  राज्यका लागि समेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा समाधान गर्दैै जानुपर्ने कुरामा जोड दिनुभयो ।  राष्ट्रिय सभाले दिगो विकास लक्ष्यका बिषयमा संकल्प प्रस्ताब नै पारित गरेको जानकारी दिदै अहिले स्वास्थ्यका क्षेत्रमा भैरहेको यो नवीन खोज अनुसन्धानका माध्ययमबाट प्राप्त ज्ञान विश्वका लागि पनि उदाहरणीय बन्ने अपेक्षा गरेका छौ भन्नुभयो ।

कार्यक्रममा बोल्दै बरिष्ठ जनस्वास्थ्यविदहरु डा. योगेन्द्र कुमार प्रधानाङ्ग र डा. सुनिती आचार्यले राज्य र निजी क्षेत्रले समेत जनस्वास्थ्यको क्षेत्रमा भन्दा उपचारका लागि अस्पताल बनाउन प्राथमिकता दिएकोमा चिन्ता ब्यक्त गर्नुभयो । जनस्वास्थ्यमा सुधार गर्ने हो भने महंगोमा उपचार गर्ने अवस्था नै नआउने कुरामा सबैले ध्यान दिन आग्रह गर्दै जनस्वास्थ्य सुधार गर्दा अस्पताल बनाउनु भन्दा धेरै उत्तम बिकल्प हो भन्नुभयो । मान्छे रोगी भएर धेरै बर्ष बाँच्ने र ठुलो धनराशी तथा समय अस्पतालमा खर्च गर्नुपर्ने अबस्था सुखद नभएको उहाँहरुको भनाई थियो । कार्यक्रममा बरिष्ठ जनस्वास्थयविद् डा. प्रधानाङ्ग र डा. आचार्यलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।

०५ असोज २०८१                                           समाप्त

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्