नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा ऐतिहासिक परिवर्तन आएको छ। अब सामान्यदेखि जटिल स्वास्थ्य परीक्षणका लागि राजधानी धाउनुपर्ने स्थानीय नागरिकको बाध्यता अन्त्य भएको छ।
“गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा” भन्ने दीर्घकालीन सोचका साथ अघि बढेको शिवपुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय फड्को मारेको हो। गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको विशेष पहलमा Lions Clubs International Foundation (LCIF) को सहयोग तथा Grant No. MAT 244022/325 I अन्तर्गत Lions Club International District 325 ‘I’ Nepal ले बिहीबार (1 जनवरी २०२६) आयोजित कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सको ‘डिस्ट्रिक्ट गभर्नर’ विनोद ढुंगाना र परियोजना संयोजक एवं ‘लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवाल सहितको टोलीले लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेशनका साथै ‘लायन्स क्लब अफ ओमकार’ र ‘लायन्स क्लब अफ मिडटाउन’ तथा शिवपुरी गाउँपालिकाको २२ लाख बराबरको स्वास्थ्य उपकरण सामग्री संकलित १ करोड ७६ लाख २० हजार ३०९ रुपैयाँ बराबरका स्वास्थ्य उपकरणहरू , शिवपुरी गाउँपालिका चालिसे स्थित शिवपुरी आधारभूत अस्पताललाई हस्तान्तरण गरे संगै शिवपुरी आधारभूत अस्पतालमा अब आधुनिक परीक्षण र उपचार सेवा सहज रूपमा उपलब्ध हुने भएको छ। यसले शिवपुरीका नागरिकलाई समय, खर्च र झन्झट सबैबाट मुक्ति दिलाउने अपेक्षा गरिएको छ।
हस्तान्तरण गरिएका उपकरणसँगै शिवपुरी आधारभूत अस्पतालमा अब आधुनिक प्रयोगशाला तथा विशेषज्ञ परीक्षण सेवा सुरु भएको छ। हेमाटोलोजी र बायोकेमिस्ट्री एनालाइजरमार्फत रगतको पूर्ण जाँच (CBC), कलेजो (LFT), मिर्गौला (KFT), मधुमेह, कोलेस्ट्रोल र युरिक एसिड परीक्षण गर्न सकिनेछ। इम्युनोलोजी सेवाबाट थाइराइड तथा हर्मोन परीक्षण पनि गाउँमै सम्भव भएको छ।


मुटु परीक्षणका लागि १२ च्यानल ECG, फोक्सोको क्षमता मापनका लागि स्पाइरोमिटर, तथा हड्डी खिइने समस्या पत्ता लगाउन अल्ट्रासोनिक बोन डेन्सिटिमिटर जडान गरिएको छ। त्यसैगरी डिजिटल डेन्टल एक्स–रे, स्केलर युनिटसहितको अत्याधुनिक दन्त चेयरबाट दाँतसम्बन्धी उपचार सेवा सुरु भएको छ। आँखा, नाक, कान र घाँटी (ENT) सम्बन्धी प्रारम्भिक परीक्षणका लागि आवश्यक उपकरणहरू पनि अस्पतालमा उपलब्ध गराइएको छ।
प्रयोगशालामा संक्रमणरहित वातावरण सुनिश्चित गर्न बायोसेफ्टी क्याबिनेट र अटोक्लेभ मेसिन जडान गरिएको छ, जसले परीक्षण रिपोर्टको शुद्धता र उपचारको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।
अब शिवपुरीका नागरिकले सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ सल्लाहसम्मको सेवा आफ्नै गाउँमै पाउने भएका छन्।
स्थानीय स्तरमै आधुनिक सेवा उपलब्ध हुँदा स्वास्थ्यप्रति नागरिकको विश्वास बढ्नुका साथै अस्पतालप्रतिको आकर्षण पनि उल्लेखनीय रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रको यो पहललाई शिवपुरी गाउँपालिकाको दूरदर्शी योजना र सहकार्यको सफल उदाहरणका रूपमा लिइएको छ। यसले ग्रामीण स्वास्थ्य सेवामा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्