प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टिकरण दिएकी छन्। सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले उक्त विषयमा धारणा राखेकी हुन्।प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता राजीनामा दिएर निर्वाचनमा सक्रिय भएका छन्। यस विषयमा प्रधानमन्त्री कार्कीले उनीहरू मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने इच्छा व्यक्त गरेको र सोही सहमतिअनुसार आफूले बिदा गरेर पठाएको बताइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “उनीहरू मन्त्री बन्नु अघि नै राजनीतिमा जाने कुरा खुलस्त गरेका थिए। हामीलाई थाहा थियो कि उनीहरूको त्यसतर्फ रुचि छ। जेनजीको दबाबमा उनीहरू सरकारमा आएका हुन्, आए र गए। अहिले उनीहरूसँग कुनै सम्पर्क छैन।”
उनले उनीहरूलाई दोष नदिन आग्रह गर्दै भनिन्, “उनीहरूले चिया खाएर मात्र काम गरेका छन् भन्ने आरोप निराधार छ।”प्रधानमन्त्री कार्कीले थप स्पष्ट पार्दै भनिन्, “दोष लगाउनु छ भने मलाई लगाउनुस्, उनीहरूलाई होइन। सरकार गठनकै बेला मैले भनेकी थिएँ—जुन दिन तपाईंहरू राजनीतिमा जानु हुन्छ, त्यो दिन बिदा गर्छु। त्यसैले उनीहरूले बेइमानी गरे भन्नु उचित हुँदैन।”
त्यतिबेला उनीहरूलाई मन्त्री बनाउन जेनजी समूहको ठूलो दबाब रहेको पनि प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्। “उनीहरूको आफ्नै जीवन, उमेर र संस्कार छ। जेनजीको दबाब थियो ल्याउनैपर्ने, र उनीहरूको सर्त थियो—चाहेको बेला निस्केर जान्छौं। आजसम्म उनीहरूको मन्त्रिपरिषद्सँग कुनै सम्पर्क छैन,” प्रधानमन्त्री कार्कीले प्रष्ट पारिन्। प्रधानमन्त्रीको उक्त वक्तव्यपछि मन्त्रीहरूको राजीनामा र निर्वाचन सहभागिताबारे उठेका विवादमा केही हदसम्म स्पष्टता आएको छ।


प्रतिक्रिया दिनुहोस्