नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट

Sagarmatha Post
Sagarmatha Post २२ माघ २०८२, बिहीबार
1 Min Read
Aa

 काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको र प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको कांग्रेसले जनाएको छ।बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस पूर्ण रूपमा निर्वाचन प्रक्रियामा केन्द्रित रहेको बताए। संसद् पुनर्स्थापना लगायतका विषयमा फैलाइएका हल्लाप्रति ध्यान नदिन आग्रह गर्दै उनले पार्टीको सम्पूर्ण शक्ति चुनावमै केन्द्रित भएको स्पष्ट पारे।

‘हामी सम्पूर्ण रूपमा चुनावी प्रक्रियामा गइरहेका छौँ। हामी चुनावमा नै विश्वास गर्छौँ। पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ,’ चालिसेले भने, ‘बीचबीचमा हुने विभिन्न भेटघाट वा अदालती प्रक्रियालाई लिएर ध्यान मोड्ने प्रयासप्रति हाम्रो कुनै टिप्पणी छैन।’निर्वाचनबाट ध्यान मोड्न उद्देश्यले यस्ता प्रयास भइरहेको उनको दाबी थियो। चालिसेले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र नेपाली कांग्रेस आफ्नै बलबुतामा चुनाव लड्ने दोहोर्‍याए।

‘चुनाव पूर्व हाम्रो कसैसँग कुनै पनि प्रकारको गठबन्धन हुँदैन। नेपाली कांग्रेस १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवारसहित चुनावी प्रचारमा जुटेको छ र हामी विजयको दिशामा अघि बढिरहेका छौँ,’ उनले भने। उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्