सुर्खेतमा हो-हल्ला गर्दै बाइक चलाउने ‘खतरनाक खोपडी’ समूहका २५ युवा पक्राउ

Sagarmatha Post
Sagarmatha Post २५ माघ २०८२, आईतवार
1 Min Read
Aa

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल आतंक मच्चाएको आरोपमा प्रहरीले ‘खतरनाक खोपडी (द ड्यान्जरस स्कूल)’ नामक युवा समूहका २५ जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार ती युवाहरूले प्रशासनको अनुमति नलिई मोटरसाइकल र्‍याली निकाल्दै सार्वजनिक शान्ति तथा आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सुरक्षामा खलल पुर्‍याउने गतिविधि गरेका थिए।

कालो–सेतो झण्डा बोकेर मोटरसाइकल र्‍याली निकाल्दै हो–हल्ला गरिरहेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सो समूह धुलियाबिटतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती युवाहरूले सार्वजनिक शान्ति खलल पुर्‍याउने कार्य गर्नुका साथै निर्वाचन आचारसंहिता र निर्वाचनसम्बन्धी कानुनले निषेध गरेका गतिविधि गरेको पाइएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटरमा सवार २५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका युवाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्