बंगलादेशमा संसदीय निर्वाचनका क्रममा दुई समूहबीच भएको झडपमा बिएनपीका एक नेताको मृत्यु

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८२, बिहीबार
3 Min Read
Aa

बंगलादेशमा बिहीबार भइरहेको संसदीय निर्वाचनका क्रममा दुई समूहबीच भएको झडपमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। कोची खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव हुन्।

स्थानीय बिएनपी नेताहरूका अनुसार मतदान केन्द्रमा भएको झडपका क्रममा धक्का लागेपछि कोचीको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनलाई तत्काल खुलना सिटी मेडिकल कलेज अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।खुलना महानगर प्रहरी (केएमपी) का आयुक्त मोहम्मद जहीदुल हसनले बीबीसी बांग्लासँग कुरा गर्दै घटनाको पुष्टि गरेका छन्। उनका अनुसार बिहान दुवै पक्षबीच भनाभन भएको थियो, त्यसपछि कोचीको स्वास्थ्य अवस्था अचानक बिग्रिएको हो।

यसैबीच, खुलना–२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीले बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमात–ए–इस्लामीका पक्षमा प्रचार गर्न थालेपछि विवाद सुरु भएको दाबी गरेका छन्। विवादका क्रममा कोचीलाई धक्का लागेर रूखमा ठोक्किएको र त्यसपछि उनी अस्वस्थ भएको मोनीको भनाइ छ। यद्यपि प्रहरीले रूखमा ठोक्किएर चोट लागेको विषयमा हालसम्म आधिकारिक पुष्टि गरेको छैन।

विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरिएको १८ महिनापछि बंगलादेशमा यो निर्वाचन भइरहेको हो। डेली स्टारका अनुसार देशभर ४२ हजार ७७९ मतदान केन्द्रमा बिहान साढे ७ बजेदेखि मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदान अपराह्न साढे ४ बजेसम्म चल्नेछ।यस निर्वाचनमा १२ करोड ७७ लाख मतदाता सहभागी हुँदैछन्, जसमा ६ करोड ४८ लाख पुरुष र ६ करोड २८ लाख महिला छन्। प्रतिनिधि सभा निर्वाचनसँगै ‘जुलाई नेसनल चार्टर’ सम्बन्धी जनमत संग्रहमा पनि मतदान भइरहेको छ, जसले आगामी वर्षहरूमा शासन प्रणालीको दिशा तय गर्ने अपेक्षा गरिएको छ। चार्टरमा संविधान संशोधन, शक्ति सन्तुलन, निर्वाचन प्रणाली सुधार, मानवअधिकार, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणजस्ता विषय समेटिएका छन्।

चुनावी प्रतिस्पर्धामा ५० दलका १ हजार ७५५ उम्मेदवार र २७३ स्वतन्त्र उम्मेदवार छन्। प्रतिनिधि सभाका ३०० सिटमध्ये २९९ सिटमा मतदान भइरहेको छ भने उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको छ।निर्वाचन शान्तिपूर्ण बनाउन देशभर करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको डेली स्टारले जनाएको छ। सेना, नौसेना, वायुसेना, बोर्डर गार्ड, कोस्ट गार्ड, प्रहरी, र्‍यापिड एक्शन बटालियन, अन्सार–भीडीपी लगायत सुरक्षाकर्मी ‘इन एड टु सिभिल पावर’ प्रावधानअन्तर्गत परिचालन गरिएका छन्।

यसपटकको निर्वाचनमा मुख्यतः तारिक रहमान नेतृत्वको बिएनपी र जमात–ए–इस्लामी नेतृत्वका गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको छ। अवामी लिगमाथि २०२४ को आन्दोलन दमनका क्रममा कम्तीमा १ हजार ४०० जनाको मृत्यु भएको आरोप लागेपछि उक्त दललाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ।मुख्य सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले निर्वाचनको दिनलाई ‘नयाँ बंगलादेशको जन्मदिन’ का रूपमा मनाउन आह्वान गर्दै मतदाताले देशको भविष्यको इतिहास लेख्ने बताएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्