बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले ८८ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया बुधबार (फागुन १३) सञ्चालन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत प्रस्ताव पेश गर्नुपर्नेछ।बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
यस उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ १० गते गरिने जनाइएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ। अधिक तरलता व्यवस्थापन तथा बजारमा ब्याजदर सन्तुलन कायम गर्न केन्द्रीय बैंकले मौद्रिक उपकरणको प्रयोगलाई तीव्र बनाएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्