अमेरिकी सिनेटले इरानविरूद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव अस्वीकृत

Sagarmatha Post
Sagarmatha Post ३ बैशाख २०८३, बिहीबार
3 Min Read
Aa

अमेरिकी सिनेटले इरानविरूद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव अस्वीकृत गरेको छ। सिनेटमा डेमोक्र्याटले राखेको प्रस्तावमा बुधबार मतदान हुँदा ५२ सिनेटरले युद्ध रोक्नुपर्ने प्रस्तावको विपक्षमा र ४७ जनाले पक्षमा मतदान गरेका थिए।अमेरिकी कंग्रेसको अनुमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलसँग मिलेर इरानविरूद्ध सैन्य कारबाही थालेका थिए। डेमोक्र्याटहरूले प्रस्तुत गरेको उक्त प्रस्ताव पारित भएको भए जारी सैन्य कारबाही तत्काल रोक्नुपर्ने थियो।तर सिनेटमा बहुमतमा रहेका रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पको युद्धकालीन नेतृत्वप्रति विश्वास जनाउँदै प्रस्ताव खारेज गरेका हुन्। अमेरिकी समाचार संस्था एसोशिएटेड प्रेस (एपी)का अनुसार यस वर्षभित्रै चौथोपटक यस्तो प्रस्ताव असफल भएको हो।

डेमोक्र्याटहरूले भने युद्ध गैरकानुनी र अनावश्यक भएको दाबी गर्दै आगामी दिनमा पनि यस्तै प्रस्तावहरू ल्याइरहने बताएका छन्।इरानसँगको द्वन्द्व लम्बिँदै गए पनि केही रिपब्लिकन सांसदहरू भने भविष्यमा आफ्नो धारणा बदलिन सक्ने संकेत गरिरहेका छन्। विशेषगरी ६० दिनको कानुनी समयसीमा नजिकिँदै जाँदा कंग्रेसले औपचारिक रूपमा युद्धको स्वीकृति दिनुपर्ने दबाब बढ्ने देखिएको छ।सन् १९७३ को ‘वार पावर्स एक्ट’ अनुसार, कुनै पनि सैन्य कारबाही ६० दिनभित्र कंग्रेसबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ। आवश्यक परे ३० दिन थप समय दिन सकिने भए पनि त्यसपछि कंग्रेसको स्पष्ट स्वीकृति अनिवार्य हुन्छ।

रिपब्लिकन सिनेटर लिजा मुर्कोस्कीले प्रारम्भमै कंग्रेसबाट अनुमति लिनु पर्ने भए पनि अब भने स्पष्ट उद्देश्य र सीमासहितको सैन्य स्वीकृति आवश्यक रहेको बताएकी छन्।त्यस्तै जोश हलेले युद्ध चाँडै अन्त्य हुनु देशको हितमा हुने धारणा राखेका छन्। रिपब्लिकनहरूबीच पूर्ण सहमति भने छैन। सुसन कोलिन्सले राष्ट्रपतिको अधिकार असीमित नभएको उल्लेख गर्दै ६० दिन नाघेपछि वा स्थलसेना परिचालन भए कंग्रेसको अनुमति अनिवार्य हुनुपर्ने बताएकी छन्।सिनेटका बहुमत नेता जोन थुनले हालसम्म इरानमा सैन्य उपलब्धिबाट सन्तुष्टि व्यक्त गरे पनि युद्ध अन्त्य गर्ने स्पष्ट योजना आवश्यक रहेको बताएका छन्। उनले युद्धका लागि आवश्यक बजेट प्रस्ताव पनि कंग्रेसका लागि अर्को महत्वपूर्ण परीक्षण बन्ने संकेत गरे।

यता डेमोक्र्याट पक्षले भने युद्ध तुरुन्त रोक्नुपर्ने अडान दोहोर्‍याएको छ।सिनेटर ट्यामी डकवर्थले सैनिकहरूले बलिदान दिइरहँदा सांसदहरूले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने बताइन्। त्यस्तै चक स्कुमरले बढ्दो इन्धन मूल्यका कारण अमेरिकी जनताले यो युद्धको मूल्य तिर्न नसक्ने चेतावनी दिएका छन्।बिबिसीका अनुसार, रिपब्लिकनहरू हालसम्म ट्रम्पको नीतिमा एकजुट देखिए पनि समयसीमा पार भए थप सांसदहरू डेमोक्र्याटसँग उभिन सक्ने संकेत देखिएको छ।

रिपब्लिकन सिनेटर र्यान्ड पाउल भने लगातार चौथोपटक पनि युद्ध रोक्ने पक्षमा मतदान गर्ने एक मात्र रिपब्लिकन बनेका छन्। मंगलबार राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यनजिक पुगेको दाबी गरेका थिए। तर कंग्रेसभित्र बढ्दो दबाबले आगामी केही हप्तामा अमेरिकी युद्ध नीतिमा महत्वपूर्ण मोड आउन सक्ने देखिएको छ।अमेरिका र इरानबीच गत साता दुई हप्ताका लागि युद्धविराम घोषणा भएको थियो। लगत्तै गत शनिबार इस्लामावादमा दुई देशबीच वार्ता भएको थियो।पहिलो वार्तामा सहमति नजुटेपछि इस्लामावादमै पुनः वार्ताको तयारी गरिएको छ। राष्ट्रपति ट्रम्पले यही साता इरानसँग दोस्रो पटक इरानसँग भेट हुने बताएका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्