रबिन थपलिया । काठमाडौं, असार २२ । विश्व वातावरण दिवसको अवसरमा तारकेश्वर नगरपालिका–१० स्थित लालीगुराँस नेसनल एकेडेमीको आयोजनामा बिहीबार सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर विद्यालय परिसरबाट ¥याली निकालेका थिए। ¥यालीमा सहभागी विद्यार्थीहरूले तारकेश्वर नगरपालिका वडा नं. १० भित्रका विभिन्न सार्वजनिक स्थानमा छरिएका फोहोर संकलन गर्नुका साथै वातावरण संरक्षण, सरसफाइ र स्वच्छ जीवनशैलीसम्बन्धी सन्देश प्रवाह गरेका थिए।
विद्यार्थीहरूले “स्वच्छ वातावरण, स्वस्थ जीवन“, “फोहोर नगरौँ, वातावरण जोगाऔँ“ लगायतका जनचेतनामूलक नारासहित वडाका विभिन्न टोल तथा बस्तीको परिक्रमा गर्दै स्थानीयवासीलाई वातावरण संरक्षणमा सचेत हुन आग्रह गरेका थिए।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउँदै यस्ता कार्यक्रमले बालबालिकामा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।उनले भने, “विश्व वातावरण दिवस मनाउनु केवल औपचारिकता होइन, वातावरण जोगाउने व्यवहारको विकास गर्नु महत्वपूर्ण कुरा हो। विद्यार्थीहरूलाई सानै उमेरदेखि सरसफाइ र वातावरण संरक्षणप्रति जिम्मेवार बनाउन विद्यालयले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।“
विद्यालयका अनुसार वातावरण संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।





dsfs


प्रतिक्रिया दिनुहोस्